काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा २ करोड ५६ लाख रुपैयाँले बढाउन सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ लाख ३२ हजार रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ५ करोड ३२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष १ करोड ३८ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा ३ करोड ७४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ लाख ५५ हजार रुपैयाँमात्र रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ७२ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ३८ लाख रुपैयाँ थियो ।

यस अवधिमा संस्थाले ४७ करोड ६० लाख रुपैयाँ सापटी लिई ७९ करोड २१ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ३५ करोड ७ लाख रुपैयाँ सापटी लिई ४२ करोड ७५ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ६ करोड १८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा २ करोड ४ लाख रुपैयाँले बढाएको छ । अघिल्लो वर्ष २७ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर २ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ४१.७८ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ११.२७ गुणा, प्रतिसेयर नेटवर्थ १३७.४२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७९.८६ रुपैयाँ रहेको छ ।