काठमाण्डौ । केही मिडिया र स्वार्थ समूहले सामाजिक सञ्जालमा फैलाएको हल्लाका कारण बजारमा उच्च अंकको गिरावट आएपछि नेपाल धितोपत्र बोर्डले भ्रम, अपूर्ण सूचना र हल्लाको पछि नलाग्न लगानीकर्तालाई आह्वान गरेको छ । 

बोर्डले आइतबार ३ बजेपछि एक विज्ञप्ति सार्वजनिक गर्दै पुरानै व्यवस्था कार्यान्वयनका लागि ब्रोकरहरुलाई गरिएको परिपत्रलाई तोडमोड गरी भ्रम फैलाइएको निश्कर्ष निकालेको हो । 

'विभिन्न समाजिक सञ्जाल तथा भ्रामक र अपूर्ण सूचना र हल्लाको पछि नलागी सूचिकृत संगठित संस्थाको आधारभूत तथा प्राविधिक पक्षको अध्ययन गरी विद्यमान व्यवस्थाअनुरुप नै लगानी गर्न अनुरोध गर्दछौं ।'-बोर्डको विज्ञप्तिमा भनिएको छ । 

धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वय नहुँदा कायम हुने अनुमानित रकमको कम्तीमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रीम रुपमा लिनुपर्ने व्यवस्था गरिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको बोर्डले खण्डन गरेको छ । 

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट चक्र टी प्लस टू हुनुपर्ने व्यवस्था लागू भइसकेको उल्लेख गर्दै बोर्डले भनेको छ–‘धितोपत्र दलाल व्यवसायीहरुले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो प्राप्त भएकोले धितोपत्र कारोवार साफसाफ तथा फछ्र्यौैट टी प्लस टूमा गर्न र सोहीअनुसार समयमा नै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरेको र धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोवार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र बिक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिनसक्ने जानकारी गराइएको थियो ।’

बोर्डले लगानीकर्ताले खरिद गरेको धितोपत्र र धितोपत्र बिक्रीवापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस् भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको र यस कार्यलाई थप प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आइतबार बोर्डमा छलफल समेत भएको बताइएको छ । छलफलमा धितोपत्र कारोवारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेशन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोवार खाता, मार्जिन खाता तथा क्लियरिङ्ग खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय समेत भएको बोर्डले प्रष्ट पारेको छ ।