काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको नबिल बैंक लिमिटेडको पौने २ लाख बढी कित्ता संस्थापक सेयर आज असार १८ गतेबाट लिलामीमार्फत बिक्रीमा राखिएको छ।

स्वावलम्बन लघुवित्तको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ। यो लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति तथा कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम कित्ताका लागि भने कुनै हद लाग्ने छैन।

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नबिल इन्भेस्टमेन्टको काठमाण्डौ नक्सारस्थित नारायणचौरमा रहेको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति असार २९ गतेसम्म तोकिएको छ।