काठमाण्डौ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल(अफिन) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि निजी, सामुदायिक र गैरसरकारी अस्पतालमा अक्सिजन नदिनु भनी अक्सिजन उत्पादक संघ र कम्पनीहरुलाई गरेको पत्राचारप्रति खेद प्रकट गरेको छ। 

अफिनले आइतबार एक विज्ञप्ति जारी गर्दै मुलुक कोभिड संक्रमणबाट आक्रान्त भएको अवस्थामा सरकारी तथा निजी क्षेत्र, सबै पक्ष एक जुट भएर उपचार सेवामा लाग्नुपर्नेमा एकपक्षीय रुपमा स्वास्थ्य मन्त्रालयबाट जारी निर्देशनले सामुदायिक तथा निजी क्षेत्रबाट संचालित स्वास्थ्य संस्थाहरुलाई हतोत्साहित गर्ने काम गरेको जनाएको छ। यसका साथै स्वास्थ्य मन्त्रालयको सम्बद्धतामा सेवा प्रदान नगरेका कोभिड अस्पताललाई कोभिड उपचारमा अतिआवश्यक मानिएको ‘रेमडेसिभिर’ औषधिसमेत आपूर्ति नगर्ने आदेशले कोभिड उपचार कार्यमा संलग्न अस्पतालहरूलाई थप असहजता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ। 

अत्यावश्यक औषधि एवं प्राणवायु अक्सिजनको अभावमा निजी अस्पताललहरुले चाहेर पनि बिरामी थप बिरामी भर्ना गर्न नसक्ने अवस्थाको सिर्जना विज्ञप्तिमा भनिएको छ। ‘कोभिड—१९ को पहिलो लहरदेखि नै कोभिड उपचारमा फ्रन्टलाइनमै रहेर सेवा दिँदै आइरहेका निजी अस्पतालहरुको भूमिकालाई सबैले तारिफ गरेको तथ्य कसैबाट छिपेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यस भयावह दोस्रो लहरमा सरकारी निजी भनेर बिभेद गर्नुको साटो राज्यले सरोकारवाला सबै पक्षलाई एकीकृत गरी विश्वासमा लिएर यस महामारीविरुद्ध युद्धस्तरमा लाग्नुपर्ने वर्तमान समयमा परिस्थितिलाई झन जटिल नबनाउन हामी नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्र (सीसीएमसी)लगायत सम्पूर्ण निकायहरूमा अनुरोध गर्दछौ।’

राज्यले गम्भीर भई आफ्नो पूर्वनिर्णयहरू सच्याई समस्याको समाधान तत्काल नगरेमा त्यसबाट उत्पन्न हुने कुनै पनि प्रतिकूल परिणामको सम्पूर्ण दायित्व पनि राज्यले नै व्यहोर्नुपर्ने अफिनले चेतावनी दिएको छ। यसका साथै उक्त समस्या समाधानका लागि आवश्यक छलफल गरी समस्या समाधान गर्नेतर्फ अग्रसर भइदिन पूर्व मेचीदेिख पश्चिम महाकालीसम्म फैलिएका २०० भन्दा बढी निजी अस्पतालहरुको छाता संगठन (अफिन) ले अनुरोध गरेको छ।