काठमाण्डौ । 
हप्ता दिन अगाडिसम्ममा दिनमा ३ हजार कित्ता(रु.५० लाखको) कारोबार हुन मुश्किल पर्ने हिमालयन जनरल इन्स्योरेन्स(एचजीआई) बुधबार करिब ४० हजार कित्ता अर्थात् ६ करोडको कारोबार भयो । हत्यसअघिका ३ दिन पनि यस कम्पनीको करोडौंको सेयर किनबेच भएको थियो । उक्त सेयरको मूल्य एकसातामै १३ सयबाट बढेर १६ सय ८७ पुगेको छ । एकसातामै एक कित्ता सेयरमा झण्डै ४ सय रुपैयाँको अन्तर देखिएको छ ।

गत चैतको दोश्रो सातादेखि अपी हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १५ दिन निरन्तर रुपमा बढ्यो । ४ सय रुपैयाँ रहेको उक्त कम्पनीको सेयर मूल्य त्यही अवधिमा ८ सय पुग्यो । विवादास्पद व्यक्ति गुरुप्रसाद न्यौपाने समूहको सो कम्पनीको हकप्रद सम्बन्धी निर्णय सार्वजनिक हुनुअघिदेखि उनीहरुले लाखौं कित्ता सेयर उठाए । तर, चैत २७ गते मात्र २  सय प्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय पारित भयो । 

न्यौपाने समूहकै अर्को कम्पनी वरुण हाइड्रोपावर कम्पनीले १ सय प्रतिशतका दरले हकप्रद सेयर वितरण गर्ने निर्णय गत असार १ गते सार्वजनिक गर्यो । तर, जेठको मध्यतिरबाट त्यो कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढिरह्यो । सूचना सार्वजनिक भएपछि सेयर मूल्यको वृृद्धिदर रोकियो । र, न्यौपाने समूहले पहिले सस्तोमा उठाएको सेयर बेचे । 

गत जेठ ३१ गते बुटवल पावर कम्पनीको फर्दर पब्लिक अफरिङ(एफपीओ) सम्बन्धी निर्णय गर्यो । त्यसअघि सो कम्पनीको सेयर एकसाता लगातार बढेर ३ रुपैयाँ खूद बढेको थियो । 

न्यौपाने समूहको बदमासी त अनेकन छन् । उनकै कम्पनी जनता बैंक नेपालले पनि  यस्तै बदमासी गरेको थियो । दुई वर्षअघि जनता र माछापुछ«े बैंकबीच मर्जरका लागि सहमति पत्रमा(एमओयू) हस्ताक्षर भएको केही दिनपछि मात्र नेप्सेमा सूचना दिइएको थियो । तर, त्यो अवधिमा जनता बैंकको ठूलो सेयर कारोबार भयो । तर, एमओयूको समाचार सार्वजनिक भएपछि मूल्य घट्न थाल्यो । 

त्यस्तै, २ महिनाअघिको घटना हो । सानिमामाई हाइड्रोपावर कम्पनीले सतप्रतिशत हकप्रद निश्कासन गर्ने निर्णय गर्नुअघि ३ दिन लगातार अस्वभाविक रुपमा बजारमा सो कम्पनीको सेयर मूल्य बढ्यो । लाखौं कित्ता कारोबार पनि भयो । ३ दिनमै प्रतिसेयर करिब ३ सय रुपैयाँभन्दा बढी मूल्य पनि बढाइयो । 

आइतबार ५ रुपैयाँले घटेर ८ सय ७५ प्रतिकित्ताका दरले कारोबार भएको सानिमामाईको सेयर मूल्य सोमबार ९३५ रुपैयाँ पुर्याइयो । मंगलबार १ हजार  २८ रुपैयाँ र बुधबार हकप्रदको  निर्णय बाहिर आउनु पहिलो नै १० प्रतिशतले बढाएर ११ सय २२ रुपैयाँ पुर्याइयो । लगातार १० प्रतिशतको हाराहारीमा २ दिन मूल्य बढाइसकेपछि मात्र हकप्रद दिने निर्णय सार्वजनिक गरियो । कतिसम्म भभने अघिल्लो दिनकै निर्णय भोलिपल्ट आधा समय सेयर कारोबार भइसकेपछि मात्र नेप्सेले आफ्नो वेबसाइटमा राखेको थियो । जब कि सानिमामाईले अघिल्लो दिन बेलुकी नै आफ्नो बोर्ड बैठकको निर्णय नेप्सेमा पठाइसकेको जनाएको छ । 

यी त केही उदाहरण मात्र हुन् । खुलमखुल्ला देखिने गरेको यस्तो भित्री कारोबारमा नेपाल धितोपत्र बोर्डले अहिलेसम्म खासै अनुसन्धान गरेको छैन । कम्पनीका संचालक, ब्रोकर र नेप्सेका केही कर्मचारी मिलेर गर्ने यस्तो इन्साइडर ट्रेडिङ बिनालगानी एकसातामै करोडौं रकमको हेराफेरी हुने गरेको छ । 

हकप्रदको निर्णय आउनुअघि नै आफूले सुटुक्क सस्तोमा सेयर उठाउने, हकप्रदको हल्ला चलाउने, त्यसपछि निर्णय सार्वजनिक भइसकेपछि महङ्गोमा आफैंले त्यही सेयर बेच्ने प्रचलन अहिले चलेको छ । यस्तो इन्साइडर टेडिंगमा कम्पनीका संचालक र सीइओहरुको मुख्य हात रहने र  उनीहरुले केही ब्रोकरहरुलाई उपयोग गरेर केही दिनमै करोडौं रुपैयाँ कमाउने गरेका छन् । 

जस्तै, हिमालयन इन्स्योरेन्सको भित्री कारोबारले यो २२० प्रतिशत हकप्रदको बारेमा अञ्जान साधारण लगानीकर्तासँग अघिल्लो साता सस्तोमा सेयर खरीद गरे । र, हकप्रदको सूचना सार्वजनिक भएको केही दिनपछि सेयर मूल्यमा ४०-५० प्रतिशतको वृद्धि आएपछि सोझा लगानीकर्तालाई भिडाएर उनीहरु प्रोफिट बुक गर्दै निस्किने गर्दछन् ।

संसारका सबै देशमा भित्री कारोबार गम्भीर आर्थिक अपराध हो । यस्तो भित्री सूचनाको आधारमा कारोबार गर्नेलाई भारी क्षतिपूर्ति, जरीवाना र काराबास सजाय हुन्छ । नेपाल पनि भित्री कारोबार गर्नेलाई यस्तै भारी दण्ड, सजायको कानूनी व्यवस्था छ । तर, अहिलेसम्म कारबाही त के एउटा प्रष्टीकरण समेत सोधिएको छैन । 

पछिल्ला महिनामा सेयर बजार उच्च दरले बढेसँगै भित्री कारोबार झनै मौलाएको छ । नियामक निकाय धितोपत्र बोर्ड र फन्ट लाइन रेगुलेटर नेप्सले प्रभावकारी नियमन गर्दा नसक्दा यस्तो कारोबार मौलाएको हो । हाल बजारमा भित्री सूचनाका आधारमा कुनै कम्पनीको सेयर मूल्य निरन्तर बढ्ने र उक्त सूचना सार्वजनिक भएपछि सेयर मूल्य घट्ने प्रवृति प्रशस्तै देखिन्छ । यसतको मतलब भित्रिया संचालकहरुले पहिलो नै सेयर उठाउने, त्यसपछि बजारमा हल्ला चलाएर बढाउने अनि आफ्नो सेयर बेचेर मुनाफा सुरक्षित गर्ने चलन छ । 

यस्तो प्रवृति नयाँ भने होइन । तर, विगतको तुलनामा अहिले ह्वात्तै बढेको छ । बढेको बजारमा चलखेल गर्ने उद्देश्यले यस्तो प्रवृति आकासिएको विश्लेषकहरु बताउँछन् । अहिले बैंक तथा बित्तीय संस्थाहरुले धमाधम वार्षिक बित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । अन्य मुलुकमा यस्तो इन्साइडर ट्रेडिङलाई गम्भीर आर्थिक अपराधको रुपमा लिइन्छ । तर, नेपालमा कानूनी रुपमा अपराध भए पनि नियामक निकायहरुले हालसम्म यसलाई सामान्य रुपमा लिने गरेका छन् । धितोपत्र ऐनमा गम्भीर अपराधको रुपमा व्याख्या गरी कारबाही तथा सजाय हुने व्यवस्था भए पनि नेपालमा यस्तो केसमा हालसम्म कोही कसैलाई कुनै कारबाही भएको छैन । 

यसरी औपचारिक निर्णय नभई बजारमा कम्पनीका सीमित व्यक्तिले आफन्तका नाममा पहिले सेयर किनेर निर्णय आएपछि महङ्गो मूल्यमा बेच्ने गलत परिपाटीका कारण पछिल्लो समय लगानीकर्ता जोखिम मोल्न बाध्य छन् । भलै, लामो समय लगाएर उनीहरुको लगानी उठ्ने भए पनि सूचना चुहाएर त्यही सेयरको कारोबारबाट अर्बौ रुपैयाँ उठाएर यस्ता कम्पनीका संस्थापकहरुले त्यही रकमलाई हकप्रदमा लगानी गरिरहेका कुरा कतै लुक्न सक्दैन । 

किन भएन कारबाही ?
पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता निरज गिरीले भित्री कारोबारको प्रमाण नभेटिएको बताए । सामान्यता बढेको बजारमा केही मात्रामा भित्री कारोबार हुने भए पनि हालसम्म प्रमाण फेला नपरेको दाबी गरे । ‘भित्री कारोबार शून्य छ भन्नसक्ने अवस्था पििन छैन ।’ उनले भने–‘त्यस्तो कारोबारको प्रमाण पनि भेटिएको छैन ।’ 

तर, सामान्य व्यक्तिले समेत केही दिनको फ्लोर सिट हेरेर पत्ता लगाउनसक्ने भित्री कारोबारको प्रमाण बोर्डले कसरी नभेटेको हो ? अचम्मलाग्दो देखिन्छ । उदाहरणका लागि गत साताभर हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको ब्रोकरसँग खरीदकर्ताको लिस्ट माग्ने हो भने सबै भेटिन्छ । उनीहरुले गत बुधबार र आज आइतबार महंगो मूल्यमा त्यो सेयर बेच्नेछन् । त्यसरी बेचिएको सेयरको रकम कहाँ जान्छ ? हेरेरै भित्री कारोबारको मुख्य अभियुक्त चिन्न सकिन्छ । 

ब्रोकर र कम्पनीका संचालहरुले अर्काको नाममा कारोबार गरिएको र बेचिएको रकम कसरी घुमाउरो पाराबाट कसको खातामा गएको छ हेर्ने हो भने भित्री कारोबारको  प्रमाण खोज्न धेरै दुःख गर्नुपर्दैन । तर, बोर्ड भने अरु कसैले प्रमाण खोजेर उसको टेबलमा लगिदेओस् र आफूले ठूलो माछा मारेको प्रेस विज्ञप्ति निकालूँला भनेर बसेको छ । नत्र बोर्डको एउटा मुख्य जिम्मेवारी नै यस्ता कर्तुतहरुको अनुसन्धान गरी कारबाही गर्ने हो । 

के हो भित्री कारोबार ?
कुनै व्यक्तिले सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने सेयर कारोबार नै इन्साइडर ट्रेडिङ अर्थात भित्री कारोबार हो । यसरी सूचना चुहाई आफूले वा अरुलाई कारोबार गर्न लगाएमा भित्री कारोबार भएको मानिन्छ । यस्तो भित्री सूचना लुकाई कारोबार गरेर इन्साइडर ट्रेडिङ गरिएको ठहरिए बिगो बमोजिम जरीवना र १ बर्षसम्म कैद सजाय हुनसक्छ । 

आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरुलाई दिन मिल्दैन । कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री काोबार गरेको मानिने कानूनी व्यवस्था छ । यस्ता सूचनाका आधारमा कारोबार गर्न कानूनले बञ्चित गरेको छ । यस्तो कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरीवाना वा एकवर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था धितोपत्र ऐनले गरेको छ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएमा त्यस्तो हानी नोक्सानी समेत भराइदिनुपर्नेछ । भित्री सूचना वा जानकारी भन्नाले धितोपत्र जारी गर्ने संस्थाबाट सार्वजनिक भएको सूचना वा जानकारी सार्वजनिक भए धितोपत्रको मूल्यमा असर पर्नसक्ने किसिमको सूचना वा जानकारी सम्झनुपर्छ । 
–सेयर बजारबाट