SEBON
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले राष्ट्रबैंकले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गराउने चटारोमा रहेका बैंक तथा बित्तीय संस्थाहरुलाई सहज हुने गरी हकप्रद सेयर निश्कासनमा लम्बेतान व्यवस्थालाई छोटो, सहज, सरल र व्यवस्थित बनाउने घोषणा गरेको छ ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार हकप्रद सेयर निश्कासनको अनुमति दिने साबिकको लामो प्रक्रियालाई शीघ्र रुपमा सम्पन्न गर्न विशेष व्यवस्था गरिएको हो ।
यसका लागि आवश्यक थप जनशक्तिको व्यवस्था गरी हकप्रद सेयर निश्कासन अनुमतिका लागि निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र निवेदनसँग संलग्न विवरण तथा कागजातहरुको अध्ययन गरी आवश्यकता अनुसार सुधार र संसोधनका लागि सुझाव दिने व्यवस्था गरिएको छ । सुझाव गरिएअनुसारको सुधार गरी आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ५ कार्यदिनभित्र हकप्रद सेयर निश्कासनको स्वीकृति दिने व्यवस्था गरिएको गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साबिकको व्यवस्थामा भएको संसोधन र नयाँ व्यवस्थाले हकप्रद सेयर निश्कासन कार्य छिटो छरितो भई पूँजीबजारमार्फत पूँजी परिचालन कार्य पनि प्रभावकारी हुने बोर्डले अपेक्षा गरेको छ ।
यसअघि धितोपत्र बोर्डको बैशाख ३० गतेको निर्णय अनुसार ६ वटा शर्त पूरा गर्ने बैंक तथा बित्तीय संस्थाहरुले हकप्रद निश्कासन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने सुविधा दिंदै खुकुलो व्यवस्था गरिएको थियो । क्रेटिड रेटिङ गर्न नपर्ने गरी छुट पाउनका लागि बित्तीय संस्थाहरुले अंकित मूल्यमा हकप्रद सेयर निश्कासन गर्न प्रस्ताव गरेको हुनुपर्ने, प्रति सेयर नेटवर्थ रु. १०० भन्दा बढी भएको हुनुपर्ने, सेयरको अंकित मूल्य भन्दा बजार मूल्य बढी भएको हुनुपर्ने, विगत ५ वर्षदेखि संचालनमा रही कम्तीमा ३ वर्षदेखि नाफामा संचालन भएको हुनुपर्ने शर्त पूरा गरेको हुनुपर्ने व्यवस्था भएको थियो । यसैगरी, खराब कर्जा नेपाल राष्ट्रबैंकले तोकेको सीमाभित्र हुनुपर्ने र पूँजीवृद्धि गरिएको सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भई कम्पनी रजिष्टारको कार्यालयमा अभिलेख भएको हुनुपर्ने शर्त समेत क्रेटिड रेटिङ गर्न नचाहनेको हकमा व्यवस्था गरिएको छ ।
क्रेटिड रेटिङमा दिइएको छुट र हकप्रद निश्कासनका लागि छिटोछरितो व्यवस्थाले बैंक तथा बित्तीय संस्थाहरुले हकप्रद निश्कासनमा सहज महसुस गर्ने र यसले केन्द्रीय बैंकले तोकेको समयमा तोकिएको पुँजी पुर्याउन समेत सहजता थपिने विश्वास गरिएको छ ।
21 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago