काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर निस्कासनका लागि क्रेडिट रेटिङ गर्न नपर्ने नयाँ व्यवस्था लागू गरेको छ । 

नेपाल राष्ट्रबैंकले तोकेको चुक्ता पूँजी वृद्धिका लागि हकप्रद सेयर निश्कासन गर्नुपर्दा यसअघि बैंकहरुले क्रेडिट रेटिङ गर्नुपर्ने झञ्झट बोर्डले हटाएको हो । नयाँ व्यवस्था अनुसार अब बैंकहरुले केही शर्त पूरा गरी सहज रुपमा हकप्रद निस्कासन गर्न पाउने भएका छन् । 

बोर्डले जारी गरेको निर्देशनअनुसार हकप्रद सेयरको अंकित मूल्य १ सय रुपैयाँ नै हुनेछ । हकप्रदका लागि बैंक तथा वित्तीय संस्था कम्तीमा ५ वर्षदेखि संचालनमा आएको हुनुपर्ने र ३ वर्षदेखि निरन्तर नाफामा संचालन भएको हुनुपर्ने छ । यसैगरी, प्रति सेयर नेटवर्थ १ सय रुपैयाँ भन्दा बढी हुनुपर्ने र अन्य बित्तीय सूचकहरु पनि नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुनुपर्ने बोर्डको निर्देशन छ । आवश्यक शर्तहरु पूरा गरी सम्बन्धित बैंक तथा बित्तीय संस्थाले निवेदन दिनुपर्ने र निवेदनमा भएको मागदाबीको बिषयमा धितोपत्र बोर्डले आवश्यक छानबिन गरी हकप्रद निश्कासनका लागि स्वीकृति दिनसक्ने छ । 

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने हकप्रद सेयरको क्रेडिट रेटिङ गर्दै आएको थियो । हकप्रद सेयरका लागि क्रेडिट रेटिङ गर्नुपर्ने झञ्झट अन्त भएपछि बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने प्रक्रिया केही सरल भएपछि राहात महसुस गरेका छन् । 

राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाको चुक्तापूँजी बढाउनुपर्ने अन्तिम समयसीमा ०७४ असार मसान्तसम्मलाई तोकेको छ । पूँजीवृद्धिको अन्तिम समय आउन १४ महिना बाँकी हुँदा धितोपत्र बोर्डले झञ्झटिलो व्यवस्थालाई सरल बनाउने काम गरेको हो । 

पछिल्लो समय हकप्रद सेयर निश्कासन गरी तोकिएको पूँजी पुर्याउने उद्देश्यले बित्तीय संस्था र बैंकहरुबाट धितोपत्र बोर्डमा आवेदन पर्ने क्रम तीव्र छ । प्रक्रिया अझ सहज र सरल भएपछि यो क्रम अझै बढ्ने र बैंक तथा बित्तीय संस्थालाई हकप्रद सेयर जारी गरी पूँजी पुर्याउन सहज हुने अनुमान गरिएको छ । 

बोर्ड स्रोतका अनुसार चालु आर्थिक वर्षमा विभिन्न कम्पनीलाई ४ अर्ब ४२ करोड मूल्यको ४ करोड ४२ लाख कित्ता हकप्रद सेयर निश्कासनको स्वीकृति दिइएको छ । बितेको आर्थिक वर्षको तुलनामा यो वर्ष स्वीकृत शेयर करिब दोब्बर हो ।