काठमाण्डौ। नयाँ वर्ष २०७८ को पहिलो तथा साताको अन्तिम धितोपत्र कारोबार हुने दिन बिहीबार बजार दोहोरो अंकले उकालो लाग्दै ऐतिहासिक उचाइमा पुगेको छ। 

आज बजार २०.६७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७३५.४६ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि आज ६.१७ अंकले बढेर ४९२.४४ को उचाइमा पुगेको छ। कारोबार रकम पनि बढेर साढे ८ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल स्टक हाउसका सञ्चालक विनोद रिमालले बैंकले ब्याजदर नबढेको र तरलता पनि सहज हुँदै गएका कारण सेयर बजारमा चमक आएको बताए। ‘सूचीकृत कम्पनीहरुका तेस्रो क्वार्टरको रिपोर्ट राम्रै आउने सम्भावना रहेकोले पनि बजार सकारात्मक गति लिएको हो’, उनले भने।

केही दिनयता बैंकिङ सेक्टर चलेकै कारण लगानीकर्ताहरु अन्य समूहबाट यो समूहमा झुम्मिएको रिमाल बताउँछन्। ‘बजारमा सानातिना करेक्सन आउन सक्छ, त्यो आउनै पर्छ’, उनले भने, ‘बुलिस बजार यस्ता करेक्सनबाटै झनै मजबुत हुने हो र यस्ता करेक्सनका बेला खरिदको अवसर पनि हुन्छ।’

रिमालले सेयर बजारमा राजनीतिक प्रभाव पर्ने सम्भावना नरहेको प्रस्ट पारे। बुलिस बजारमा कम्पनीका वित्तीय विवरण हेरेर लगानी गर्दा उचित हुने उनको भनाइ छ। 

सक्रिय लगानीकर्ता विष्णु भुसाल नयाँ वर्षको पहिलो दिन नै बढ्नुले बजार सकारात्मक लयमै रहेको प्रस्ट हुने बताए। ‘कोरोना महामारी फेरि बढ्न थालेको छ, मानिसहरु अन्य क्षेत्रमा लगानी गर्न हिच्किचाइरहेका छन्’, उनले भने, ‘त्यसले अहिले सेयर बजारमै लगानी भित्रिरहेको छ, यसले पनि बजार बढ्नमा निकै मद्दत पुगिसकेको छ।’

भुसालले यदि लकडाउन भइहाले पनि सेयर बजारमा नकारात्मक प्रभाव नपर्ने बताए। बजार नकारात्मक हुनुपर्ने कुनै आर्थिक वा राजनीतिक कारण पनि नभएको उनको तर्क छ। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा मात्रै रातो पोतिएको छ। आज विकास बैंक समूह सबैभन्दा बढी ९०.१८ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ४५.६८ अंकले बढेको आज बैंकिङ समूहमा २३.०४ अंक, होटेल तथा पर्यटन समूहमा १०.५ अंक, वित्त समूहमा २८.३९ अंक, निर्जीवन बीमा समूहमा ९.०३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४३.२७ अंक, अन्य समूहमा ३.३ अंक, लघुवित्त समूहमा ६.१४ अंक, म्युचुअल फन्ड समूहमा ०.०५ अंक र लगानी समूहमा १.५९ अंकको बढोत्तरी भएको छ।

आज व्यापार समूह ९९.६५ अंकले ओरालो लाग्दा जलविद्युत् समूहमा ८.९७ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन एनआईसी एसिया लघुवित्तको सर्वाधिक ४९ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ४९ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३२ करोड ६२ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको २४ करोड ७९ लाख रुपैयाँ, नबिल बैंकको २३ करोड १५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २० करोड १८ लाख रुपैयाँ, कुमारी बैंकको १९ करोड ८२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १६ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकको १५ करोड ४० लाख रुपैयाँ र मेगा बैंकको १४ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। बेस्ट फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन मल्टीपर्पस फाइनान्स र नेसनल माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।