– प्रकाश न्यौपाने

काठमाण्डौ । विदूर भट्टराई नेपालको सेयर बजारमा लामो समयदेखि सक्रिय रुपमा कारोबार गर्दै आएका छन्। उनी आईपीओ भरेर २०४८ सालबाट सेयर बजारमा प्रवेश गरेका थिए। तीन दशकभन्दा बढी समयदेखि सेयर बजारमा कारोबार गर्दै आएका उनीसँग ४ वटा बुल र ४ वटा बियरको अनुभव छ। 

भट्टराई १०० बाट सुरु भएको बजार ३२०० को विन्दु पुग्दासम्म आफूले अनेकन उतार–चढाव भोगेको बताउँछन्। ‘२०४८ सालतिर नेपाल बंगलादेश बैंकको आईपीओ भरेर ८० कित्ता हात परेपछि सेयर बजारमा लाग्न हौसला मिल्यो’, उनी भन्छन्।

काठमाण्डौको कलंकी क्षेत्रका स्थायी बासिन्दा भट्टराईले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन्। ‘कलेज पढ्दादेखि नै सेयर बजारका बारेमा निकै चासो राख्थेँ’, उनले भने, ‘२०५५ सालबाट भने म दोस्रो बजारमा छिरेँ र अहिलेसम्म पनि निकै सक्रियता साथ कारोबार गरिरहेको छु।’ 

भट्टराईले आफूले छोटो समयमै बजारबाट राम्रो नाफा कमाउन सफल भएको र हरेक बुल र बियरको छुट्टाछुट्टै अनुभव बटुलेको बताए। ‘पहिलेको समयमा लगानीकर्ता कम रहेकाले धेरै रकम हुनेहरुले जे भन्यो लगभग त्यही हुने गथ्र्यो’, उनले भने, ‘बजार बढ्ने र घट्ने सहजै अनुमान लगाउन सकिन्थ्यो।’

बैंक र माइक्रोफाइनान्सहरुको संख्या पनि कम र कम्पनीको चुक्तापुँजी पनि कम भएको हुँदा लगानीकर्ताले थोरै–थोरै कित्ता खरिद गरेर होल्ड गर्दा पनि बजारमा कम्पनीको सेयर सर्टेज भई लगातार हप्तौँ दिनसम्म सर्किट लागेको अनुभव पनि भट्टराई साट्छन्। ‘५०० को बुलमा राम्रो नाफा कमाएँ’, उनले भने, ‘११७५ र १८८१ को बुलमा पनि राम्रै नाफा निकालेँ।’

पछिल्लो समय कम्पनी, सेयर र लगानीकर्ताको संख्या पनि बढ्दै जानु तथा सामाजिक सञ्जालमा हुने गरेका भविष्यवाणीले बजार तरंगित हुने गरेको भट्टराई बताउँछन्। ‘३२०० बजार हुँदा ६००० सम्म पुग्छ भन्ने व्यापक हल्ला थियो’, उनले भने, ‘अर्कोतिर राष्ट्र बैंकले बजारलाई असर पुग्ने खालका ४–१२ नीति ल्याउँदा र बैंकहरुले ऋणको ब्याज पनि बढाउँदा बजार कम समयमै ठूलो अंकले घट्यो, त्यसैले ३२०० को बुलमा बजारको लय पहिल्याउन नसक्दा मैले सोचेजस्तो नाफा कमाउन सकिनँ।’

हरेक बियरिसमा कमजोर कम्पनीसँगै बलिया कम्पनीका सेयर पनि घट्दै जाने भएकाले घटेका बेला राम्रो रिजर्भ भएका कम्पनीका सेयर खरिद गरेर प्रत्येक वर्ष २० प्रतिशतभन्दा माथिको बोनस सेयर खाँदै जाँदा फेरि आउने बुलमा मनग्य कमाउन सकिने पनि भट्टराई बताउँछन्। 

भट्टराई अल्पकालीनभन्दा दीर्घकालीन लगानी गर्न रुचाउँछन्। ‘दीर्घकालीन लगानी गर्दा राम्रो कमाइ भएका, रिजर्भ धेरै भएका र प्रत्येक वर्ष राम्रो लाभांश दिने कम्पनीको सेयर खरिद गरेर राख्दा मनग्य कमाउन सकिन्छ’, उनले भने, ‘मैले २५० रुपैयाँ किनेको समिट लघुवित्तको सेयर ३३०० रुपैयाँमा बेचेँ।’

भट्टराईको लगानी धेरैजसो लघुवित्त संस्था, बीमा कम्पनी र नागरिक लगानी कोषमा रहेको छ। ‘पछिल्लो समय अपी पावर, एचआईडीसीएलजस्ता कम्पनीमा पनि लगानी गरेको छु’, उनले भने, ‘कुनै बेला ८०० रुपैयाँसम्म पुगेको अपी पावरको सेयर करेक्सन हुँदै १५६ रुपैयाँमा झरेपछि किनेँ तर भाउ १०० रुपैयाँसम्म झर्यो। १०० मा झर्दा मैले थप सेयर उठाएर एभरेजिङ गरेँ। पछि हकप्रद र लाभांश सबै जोड्दा अहिले अपीमा राम्रै नाफा छ।’

लघुवित्त संस्था र बीमा कम्पनीका सेयरबाट राम्रै नाफा निकाल्न सके पनि एभरेस्ट बैंक र नेपाल लाइफमा भने ३ वर्षपहिले राम्रो कम्पनी भनेर उच्च विन्दुमा लगानी गर्दा निकै घाटा भएको तीतो अनुभव पनि भट्टराईसँग छ। ‘ती कम्पनीमा अझै घाटा छ तर नबेची होल्ड गरेर राखेको छु’, उनले भने। 

विषेशगरी अध्ययन नगरी बजारमा लगानी गर्ने र अल्पकालमै धेरै कमाउने मनसाय राख्ने नयाँ लगानीकर्ताले बजारमा ठूलो घाटा व्यहोर्ने गरेको भट्टराईको भनाइ छ। अध्ययन गरेरमात्र लगानी गर्न सुझाव दिँदै उनले भने, ‘विगतमा राम्रा रहेका कम्पनीमा मात्र लगानी गर्न हुँदैन। लगानी गर्ने समय र गरिसकेपछि पनि कम्पनीको सम्पूर्ण कुरा अध्ययन गरिरहनुपर्छ।’