काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा अक्सिजनन दिइने मेसिन (अक्सिजन कन्सेन्ट्रेटर) को कमी हुन थालेको जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहनोम गब्रियसोसले सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वका थुप्रै देशले अहिले अक्सिजन कन्सेन्ट्रेटरको अभाव झेलिरहेको बताए। ‘अहिले यो मेसिनको माग निकै बढेको छ’, उनले भने।

अहिलेसम्म विश्वभर कोरोनाबाट ९३ लाख बढी मानिस संक्रमित भइरहेका छन् भने ज्यान गुमाउनेको संख्या ४ लाख ८० हजारभन्दा बढी छ। ‘विश्वभर हरेक साता १० लाखमा कोरोना संक्रमण देखिइरहेको छ’, टेड्रोसले भने, ‘यसका कारण प्रत्येक दिन ८८ हजार ठूलो अक्सिजन सिलिन्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजनको आवश्यक परिरहेको छ।’

टेड्रोसले संक्रमणको मामिला बढ्दै जाँदा अक्सिजन कन्सेन्ट्रेटरको अभाव हुन थालेको बताए। ‘जुन कोरोना संक्रमण बिरामीलाई सास लिन अतिआवश्यक छ’, उनले भने।

टेड्रोसका अनुसार डब्ल्यूएचओले १४ हजार अक्सिजन कन्सेन्ट्रेटर खरिद गरेको छ। आउँदा साता ती मेसिन १२० राष्ट्रलाई पठाइने उनले जानकारी दिए। – एजेन्सी