काठमाण्डौ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले गाउँघरमा कुनै पनि रोगबाट मान्छे मरे पनि कोरोनाले मरेको भन्दै लाश नउठाउने र मलामी समेत नपाइने अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गरेका छन् । 

स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार रहेका डा. कार्कीले कोरोना भाइरसको विषयमा भ्रम फैलाएर जनजीवन आतकिंत पार्ने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

'जो जे कारणले मरे पनि कोरोनाले मर्यो भनेर हल्ला फैलाइएका गुनासा हाम्रा कलसेन्टरमा आएका छन् ।' उनले भने-'गाउँघरमा कोही मरिहाले लाश नउठ्ने र मलामी समेत नजाने अवस्था सिर्जना हुन थालेको छ । नागरिकहरुको मनको भय औधी बढेको देखिन्छ, जुन सर्वथा गलत छ।' 

उनले कोरोनाको संक्रमण दर बढी भए पनि यसले पार्ने प्रभाव र मृत्यु हुने संभावना अत्यन्त कम रहेको उल्लेख गर्दै कसैलाई ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा अत्तालिनुपर्ने अवस्था नरहने समेत जिकिर गरे । 

उनले कोरोना संक्रमण नेपालका गाउँ गाउँमा फैलिनहालेको दाबी गर्दै भने-'कम्युनिटी टान्समिसन र लोकल टान्समिसन हुने खालको परिस्थिति सिर्जना भएको छैन, त्यसकारण अत्तालिनुपर्ने अवस्थै छैन ।' 

उनले नागरिकहरुलाई धैर्य हुन र संक्रमणको विषयमा सचेत भई जिम्मेवार बनिदिन आग्रह गर्दै भने-'कुनै अर्को कारणले मृत्यु भयो भने पनि कोरोनाले मर्यो भनेर नभनिदिनुहोस् । मृत्यु हुने जति सबै कोरोनाले मरे भन्ने भय त्यागिदिनुहोला ।' 

उनले जसलाई सुक्खा खोकी, उच्च ज्वरो आई सास फेर्न गाह्रो हुन्छ, त्यस्ता व्यक्ति तुरुन्तै नजिककैको स्वास्थ्य संस्थामा जानुपर्ने र त्यस्तालाई बढी निगरानी चाहिन्छ भनेरै क्वारेन्टाइनमा राख्नुपर्छ भनिएको प्रष्ट पारे । 

उनले विदेशबाट आएकै कारण कतिपय गाउँहरुमा त्यस्ता व्यक्तिलाई गाउँनिकालासम्म भएका घटना तथा गुनासाहरु आफूहरुसम्म आइपुगेको भन्दै यसलाई दुःखद भनेका छन् । 'विदेशबाट आएकै कारण हेला गर्ने, भेदभाव गर्ने र हुँदा हुँदा गाउँनिकालासम्म गर्ने कुरा जिम्मेवार नागरिक र समाजले गर्ने काम होइन ।' उनले थपे-'कोरोनाको संक्रमण फैलिएका देशबाट आउनेहरुले परिवार र समुदायलाई बचाउनका लागि जिम्मेवार बनेर क्वारेन्टाइनमा बसौं, समाजका सदस्यले पनि जिम्मेवार भएर विदेशबाट आएकालाई व्यवहार गरौं ।'

उनले नेपाली नागरिकहरुमा लकडाउनबारे गलत धारणा रहेको उल्लेख गर्दै यसलाई विगतका कतिपय आन्दोलनमा लाग्ने कफ्र्यूजस्तो नठानिदिन अपील समेत गरे । 'आन्दोलनमा लागेको कफ्र्यूजस्तो बेलुका भएपछि मानिसहरु हिँड्ने प्रवृति देखिएको छ । यो गलत हो ।' उनले भने-' सरकारले लकडाउन गरेको तपाई नागरिकहरुलाई नै बचाउन हो ।' 

उनले जरुरी सामान खरीदका लागि पसलमा जाँदा एकमिटरको दूरी बनाएर बस्न, भीडभाड नगर्न आग्रह गर्दै भनेः-'हामी सबैले आफ्नो ठाउँमा सचेत भयौं भने मात्र कोरोनाको लडाईमा विजयी हुन्छौ, नभए हार्छौ ।' 

एकअर्कामा आमनेसामने बस्दा थुकको छिँटाबाट यो संक्रमण सर्ने भएकोले त्यसरी बस्दा समेत एकमिटरको दूरी कायम गर्न उनले आग्रह गरेका छन् ।