– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजार राजनीतिक घटनाक्रमले अतिप्रभावित हुने गरेको छ। त्यसमा पनि राजनीतिका विषयमा चल्ने विभिन्न किसिमका हल्लाले नेपालको सेयर बजारले तत्काल प्रतिक्रिया जनाउने गर्छ। यसको पछिल्लो उदाहरण आजको दिनलाई पनि लिन सकिन्छ।

सरकारले पूर्णता पाएको २४ घन्टा नबित्दै सभामुख र राष्ट्रपति चयनका विषयमा विभिन्न हल्ला चल्दा इन्ट्राडेमा करिब ३० अंकले बढेको बजार आज ९ अंकले घटेर बन्द भएको छ। आज बजार घट्नुको मुख्य कारण नै राजनीति रहेको लगानीकर्ताहरु बताउँछन्। 

आज ब्रोकर हाउसमा उपस्थित लगानीकर्ताबीच सभामुख र राष्ट्रपति कुन दलबाट हुने हो भन्ने विषयमा निकै चर्चा चलेको देखिन्थ्यो। ‘सामाजिक सञ्जालजस्तै ब्रोकर हाउसहरुमा पनि लगानीकर्ताहरु अहिलेको सरकारको प्रस्तावक दल एमालेले सरकार बनाउने बेलामा माओवादी केन्द्रसँग गरेको न्यूनतम समझदारी पूरा नभए सरकारबाट बाहिरिने हो कि भन्ने विषयले चर्चा पायो’, बजार जानकार निमानन्द कँडेल भन्छन्।

अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौड्यालले सम्हालेदेखि नै लगानीकर्ताको मनोबल बढेको हुनाले बजार पनि बढेको कँडेलको भनाइ छ। ‘लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्रलाई उकास्न कुशल नेतृत्व गर्ने विश्वास बोकेका अर्थमन्त्री पौडेल सरकारबाट बाहिरिएमा फेरि बजार सुस्त हुँदै तल झर्न सक्छ भन्ने हल्ला फैलिएकोले पनि आज बजार प्रभावित बनेको हो’, उनले भने, ‘यी कुरा बजार घटाउन सक्रिय भएकाहरुबाट आएकोजस्तो लाग्छ। सायद सत्ता समीकरणमा कुनै फेरबदल अब हुने छैन।’  

सक्रिय लगानीकर्ता हर्क शाही कांग्रेसले प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्नुपर्नेमा उल्टै विश्वासको मत दिनु शंकास्पद रहेको बताउँछन्। ‘यही कारणले कतै सरकारको समीकरण नै फेरि परिवर्तन हुने हो कि भन्ने डर लगानीकर्ता देखिएको छ’, शाहीले भने, ‘भोलि हुने सभामुखको निर्वाचनमा सत्तापक्षभन्दा बाहिरका व्यक्ति निर्वाचित भएमा सरकारको समीकरण पनि परिवर्तन हुने आशंका लगानीकर्तामा देखिएको छ।’ 

रातारात बनेको समीकरण फेरि पनि रातारात परिवर्तन हुन सक्ने भयले लगानीकर्तामा अन्यौलता थपिएको शाही बताउँछन्।