काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले मन्त्रिपरिषद्को बैठकले पुँजी बजारसम्बन्धी तीनवटा नियमावली स्वीकृत गरेसँगै नेपाली पुँजी बजारमा पहिलोपटक ऐतिहासिक काम भएको बताए ।

मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि धितोपत्र बजार सञ्चालन नियमावली २०७४, नयाँ ब्रोकर लाइसेन्सको वितरणका लागि धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी २०६४ को चौथो संशोधन र वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूलाई प्राथमिक निष्कासन (आइपिओ)मा १० प्रतिशत कोटाको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ पाँचौँ संशोधन स्वीकृत गरेको हो। यसै सन्दर्भमा बोर्ड अध्यक्ष हमालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

बोर्ड अध्यक्ष हमालले तीनै नियमावली मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै नेपाली पुँजी बजारमा पहिलो पटक आम लगानीकर्ताको हितमा ऐतिहासिक काम भएको दाबी गरे। ‘खुला प्रणालीबाट हाकिमको तजबिजीबिना नै ३५ दिनमा मापदण्ड पुर्याउनेले ब्रोकर लाइसेन्स पाउने छन् ।’ अध्यक्ष हमाल भन्छन्–‘लगानीकर्ताको हितमा यो भन्दा पहिला बोर्डबाट यस्तो ऐतिहासिक निर्णय भएको थिएन ।’

नयाँ स्टक एक्सचेन्जलाई सञ्चालनको लाइसेन्स दिने विषयमा २०७४ सालमा नै बोर्डले निर्णय गरेको थियो। तर कार्यान्वयन भने हुन् सकेको थिएन। ‘नयाँ स्टक एक्सचेन्जमा पनि हामीले अन्य मुलुकमा भएको मोडल नै अपनाएका छौ। बैंक, बीमामा आम जनताले लगानी गर्न पाउँछन् भने स्टक एक्सचेञ्जमा लगानी गर्न किन नपाउने ?’ प्रश्न गर्दै अध्यक्ष हमाल भन्छन्–‘त्यसैले ३ अर्ब चुक्तापुँजी भएको स्टक एक्सचेन्जमा पब्लिकको ३० प्रतिशत सेयर हिस्सा हुने गरी प्रस्ताव मन्त्रीपरिषद्बाट पास भएको छ।’

अब स्टक एक्सचेञ्जमा व्यावसायिक घरानाको मात्र नभएर आम नेपाली जनताको पनि लगानी हुने उनको भनाई छ। ‘साथै लगानीकर्ताको हितमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई पनि आइपिओमा १० प्रतिशत कोटा छुटाइएको छ।’–उनले भने।