काठमाण्डौ । लकडाउन खुल्ने अनिश्चिततासँगै काठमाण्डौको पाँचतारे हायात होटल असार १६ गतेसम्म बन्द हुने भएको छ । 

होटलका महाप्रबन्धक राजेश रामदासले आज एक सूचना जारी गर्दै होटल असार १६ गतेसम्म बन्द रहने प्रष्ट पारेका हुन् । 

यसअघि चैत ९ गतेदेखि सो होटलको व्यवसायिक संचालन बन्द भएको थियो । 

पाहुना तथा श्रमिक र कर्मचारीहरुको स्वास्थ्य सुरक्षा महत्वपूर्ण विषय भएको र लकडाउनपछि पनि अवस्था पूर्ण नियन्त्रणमा नआउँदासम्म होटल सुरक्षित र व्यवसायिक रुपमा संचालन गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दै होटल बन्द गरिएको प्रष्ट्याइएको छ । 

श्रम ऐन २०७४ को दफा ८०(१)मा भएको व्यवस्थाअनुसार कार्यस्थलमा संक्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्थासहित होटल संचालन गर्नसक्ने अवस्था समेत नरहेकोले विशेष परिस्थिति सिर्जना भई होटलको व्यवसायिक सेवा र सुविधाहरु सम्पूर्ण रुपमा असार १६ गते(जून ३०, २०२०)सम्म बन्द गरिएको महाप्रबन्धक रामदासले प्रष्ट्याएका छन् । 

होटलले सबै कामदार, कर्मचारी, व्यवस्थापक लगायत सबैलाई जगेडामा राखिएको समेत प्रष्ट पारेको छ । 

जगेडामा रहेको अवस्थामा प्रचलित कानून बमोजिम कामदार तथा कर्मचारीले खाईपाई आएको तलबको आधा पारिश्रमिक मात्र पाउनेछन् ।