काठमाण्डौ । अमेरिकन बाइक निर्माता कम्पनी हार्ले डेभिडसनले भारतमा रहेको आफ्नो कारखाना बन्द गर्ने भएको छ।

विश्वको सबैभन्दा ठूलो मोटरसाइकल बजार भारतमा हार्ले डेभिडसन करिब एक दशकअघि प्रवेश गरेको थियो। कम्पनीले एक विज्ञप्ति जारी गर्दै दक्षिण भारतको बावलमा रहेको आफ्नो कारखाना बन्द गर्न लागेको र दिल्ली नजिकमा रहेको गुरेगाँउको सेल्स अफिसको बिक्री पनि उल्लेख्य मात्रामा घटाउन लागेको जनाएको छ। यसका साथै डिलरहरुले ग्राहकहरुलाई उनीहरुको सम्झौता नसकुन्जेलसम्म सेवा प्रदान गर्नेछन् र कम्पनीले भारतमा आफ्ना बाइकहरु बिक्री गर्ने नयाँ–नयाँ तरिकाहरु पहिल्याउनेछ। 

भारतीय अटोमोबाइल उत्पादन संघका अनुसार गत वर्ष १ करोड ७० लाख बाइक बिक्रीका साथ भारत बाइक र स्कुटीका लागि विश्वको सबैभन्दा ठूलो बजार बनेको थियो। भारतमा दुईपांग्रे सवारीसाधनको लोकप्रियता धेरै नै रहेको छ। पछिल्लो समयमा आएर भारत कारका लागिसमेत विश्वको तीव्र वृद्धि भइरहेको बजारमध्ये एक बनेको छ। 

सन् २०१० मा हार्ले डेभिडसन भारतमा प्रवेश गर्दा यो चीनपछि सबैभन्दा तीव्र वृद्धि भइरहेको दुई पांग्रे बजारका रुपमा रहेको थियो। कम्पनीका अनुसार सन् २०१० यता कम्पनीले भारतभर रहेका आफ्ना ३३ वटा डिलरहरुमार्फत जम्मा २५ हजार मोटरसाइकलमात्रै बिक्री गर्न सफल रह्यो। 
कम्पनीको व्यापार उच्च आयात भन्सार र बिक्री करसँग संघर्षरत रह्यो। जसको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार आलोचना गर्दै आइरहेका थिए। 

हार्ले डेभिडसन भारतबाट जाने समाचारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थप वैदेशिक लगानी आकर्षित गर्ने र भारतको उत्पादन आधारलाई फराकिलो बनाउने विश्वासलाई धक्का पुगेको छ। बितेका केही वर्षहरुमा भारतबाट फोर्ड र जनरल मोटर्स पनि बाहिरी सकेका छन्। 

रोयटर्सका अनुसार हार्ले डेभिडसनले भारतमा आफ्नो मोटरसाइकलको वितरणका लागि हिरो मोटरकर्पसँग छलफल गरिरहेको छ। तर कम्पनीले यसलाई अनुमानमात्र भन्दै नकारेको छ। – एजेन्सी