काठमाण्डौ । भर्खरै हालसम्मकै ठूलो आईपीओ बिक्री गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा भने १२.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ४० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ३५ करोड २२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ५० करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ। यो पनि गत वर्षको तुलनामा १२.१३ प्रतिशतले कम हो। गत वर्ष सञ्चालन मुनाफा ५७ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले ५६ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष ६१ करोड ७१ रुपैयाँ थियो। 

बैंकले ३२ करोड ४४ रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड कर्जा प्रवाह गरेको छ। गत वष यही अवधिसम्म बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार भने ४९.६६ प्रतिशतले बढाएर १ अर्ब ९४ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १ अर्ब २९ करोड रुपैयाँ थियो।

वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६.७१ रुपैयाँबाट घटेर ५.८७ रुपैयाँमा झरेको छ।