काठमाण्डौ । कोरोनाबाट थप ५० जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांक देशभर ५० जनाको ज्यान गएको हो। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९ हजार १९६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै एक दिनको उच्च आँकडा हो। 

मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ। 

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका मात्रै ३ हजार ८९ जना, ललितपुरका ६४३ जना र भक्तपुरका ३७४ जना छन्। उपत्यकामा एकैदिन थपिएका संक्रमितको यो संख्या पनि हालसम्मकै उच्च हो। 
पछिल्लो २४ घन्टामा थप २ हजार ९०५  जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ।

हाल देशभर ७८ हजार ६२९ जना सक्रिय संक्रमित रहेका छन्।