काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ मा आज आइतबार साँझसम्म ४ करोड ५० बढी इकाइ खरिदका लागि आवेदन परेको छ।

सानिमा क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्म ३६ हजार ८४० आवेदकबाट ४ करोड ५० लाख ५ हजार ८१० इकाइ खरिदका लागि आवेदन परेको छ। यो ४५ करोड ५८ हजार १०० रुपैयाँबराबरको इकाइ खरिदका लागि आवेदन परेको हो। यो फन्डका इकाइहरुको सार्वजनिक निष्कासन गत शुक्रबारबाट खुला गरिएको छ। 

प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो। 

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। 

यस योजनाको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलामा माघ २६ गते बैंकिङ समयपछि हुनेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। गत पुस १४ गते नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई निष्कासनको अनुमति दिएको थियो।