एजेन्सी । प्रेमको कुनै जात हुन्न । जुनसुकै जात, धर्म वा परिवारबाट होस्, मन मिलेपछि संसार जित्ने आँट आउँछ र मानिस एकअर्कामा समर्पित भएर युग युगसम्म सँगै बाँच्ने कसम खाएर अगाडि बढ्छ । तर प्रेममा जब अवरोध सिर्जना हुन्छ, दुई मुटुलाई छुटाउन कोशिश हुन्छ, पागल प्रेम जोडी सहजै मृत्यु रोज्न समेत पछि पर्दैन । भारतको झारखण्डमा अवस्थित राँचीको एक प्रहरीचौकीमा यस्तै घटना भएको छ । हिन्दू र मुस्लिम परिवारका एक प्रेमीलाई परिवारको इशारामा प्रहरीले पक्राउ गरेर छुटाउन खोजेपछि उनीहरुले प्रहरीचौकीमै आत्महत्या गरेका छन् । उनीहरुको आत्महत्यापछि केही प्रहरीको जागिर गएको छ भने त्यहाँको प्रान्त सरकारको जग नै हल्लिएको छ । 
 

राँचीको अरगोडा थानामा प्रेम जोडीले आत्महत्या गरेको हो । घटनापछि तीन प्रहरीको जागिर गएको छ भने झारखण्डको विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले सरकारको राजीनामा मागेका छन् । उनले विधानसभामा सम्बोधन गर्दै प्रहरीचौकीमै थुनुवाले आत्महत्या गर्नु निकै धेरै गम्भीर बिषय रहेको बताए । कांग्रेसका विधायक तथा पार्टीका प्रदेश अध्यक्ष सुखदेव भगतले पनि प्रहरीमाथि लापरबाहीको आरोप लगाए । 
 

राँचीका एसपी किशोर कौशलले मृत प्रेमजोडी गोड्डा जिल्लाको महागामा गाउँका बासिन्दा थिए । गोड्डा प्रहरीले उनीहरुलाई सोमबार राति हरमू भन्ने स्थानबाट गिरफ्तार गरी अरगोडा थानामा राखेको थियो । मंगलबार बिहान यो प्रेमजोडीलाई म्याद थप गर्न अदालतमा पेश गर्ने कार्यक्रम थियो, तर बिहान नहुँदै यो प्रेम जोडीले प्रहरी थानाभित्रै बिष सेवन गरी आत्महत्या गर्यो । 
 

प्रहरी थानाभित्रका थुनुवासँग बिष कहाँबाट आयो भन्ने बिषयमा गम्भीर प्रश्न उब्जिएको छ, एसपी कौशलले घटनाको बिषयमा गम्भीर अध्ययन थालिएको बताएका छन् । 
 

राँचीका एसएसपी कुलदीप दिवेदीले घटनामा प्रहरीको गम्भीर गल्ती भएको देखिएको ३ प्रहरीलाई निलम्बन गरिएको प्रष्ट पारे । उनले मानवाधिकार आयोगको निर्देशन मुताबिक प्रहरीले जाँच कार्यलाई जारी राखेको समेत बताए । मानवाधिकार आयोगले घटनाको मिहीन ढंगले अध्ययन गर्ने, मृतकको शव पोष्टमार्टम गरी यथार्थ पत्ता लगाउने बताएको छ । 
 

महागामा थानाकी अफिसर इञ्चार्ज रेणु गुप्ताका अनुसार मृतक जफर आलम र उनकी प्रेमिका पूजा कुमारी भाञ्जपुर गाउँमा आमनेसामने छ । दुवै परिवार निकै गरीब हो । १५ जनवरीबाट दुवै प्रेमजोडी घरबाट भागेका थिए । केटीकी आमाले केटाविरुद्ध आफ्नी छोरी बेपत्ता बनाएको आरोपपत्र प्रहरीमा दर्ता गराएकी थिइन । 
 

उजुरी परेपछि परिचालन भएको प्रहरीले घरबाट भागेको प्रेमजोडी राँचीमै रहेको पत्ता लगाई एक टोली पठाएर गिरफ्तार गरेको थियो ।