काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो उडानमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीलाई बोक्ने मौका प्राप्त गरेको छ । 
 

नेपालमा दर्ता भएको नाइन एन एएलएम, एमएसएन ६६२६, एक ३२०.२१४ जहाजले आइतबार प्रम ओली, उनकी पत्नी राधिका शाक्य लगायतका उच्चपदस्थ सरकारी अधिकारीलाई लिएर चीनको वेइजिंगस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालय एयरलाइन्सले जनाएको छ । 

विमान अवतरण हुँदा  चीनको स्थानीय समय १८ः१६ बजेको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरण र छिमेकी मुलुक चीन तथा अन्य सम्बन्धित देशका नियामक निकायहरुको अनुमति अनुरुप उडान गरिएको बताइएको छ । भ्रमण दलमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायत छन् । टोलीमा नेपालका उद्योगी व्यापारी तथा सरकारी संचारकर्मी समेत रहेका छन् ।  नेपाली टोलीमा नेपालका लागि चिनियाँ राजदूत वी जुन ताई, उनकी पत्नी जियाङ चुन यान,  हिमालय एअरलाइन्सका बोर्ड अक्ष्यक्ष आङछिरिङ शेर्पा लगायतको पनि सहभागिता रहेको छ । 
 

एयरलाइन्सका प्रशासन तर्फका उपाध्यक्ष विजय श्रेष्ठले प्रधानमन्त्रीको टोलीलाई विदाई गरेका थिए । सो उडानमा लाग्ने सम्पूर्ण खर्च हिमालय एयरलाइन्सले नै व्यहोरेको विज्ञप्ति जारी गरी बताइएको छ । 
 

एयरलाइन्सका प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले प्रधानमन्त्री ओलीले हिमालय एयरलाइन्सलाई औपचारिक भ्रमणका लागि प्रयोग गरेर आफूहरुलाई उत्साहित बनाउने काम गरेका प्रष्ट्याएका छन् । 

नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले मजबूत व्यवस्थापनसहित अन्तर्राष्ट्रिय स्तरको हवाई सेवा संचालनको लक्ष्य लिएको बताएका छन् । ‘हामी यात्रुहरुलाई आकाशमा उत्कृष्ट नेपाली आतिथ्यताका साथै उच्चस्तरीय,आरामदायी र सुरक्षित उडान सेवा दिनेछौ भन्ने कुरामा विश्वस्त गराउन चाहन्छौं ।’ श्रेष्ठले भनेका छन् । 

२०१४ मा स्थापित हिमालय एअरलाइन्सले अप्रिल २०१६ मा अन्तर्राष्ट्रिय उडान भर्ने कार्यक्रम बनाएको छ । हिमालय एयरलाइन्सले आफ्नो व्यापारिक उडान सुरु गर्न सम्पूर्ण तयारी सकिसकेको छ । यस शिलसिलामा एयरलाइन्स्ले आफ्ना विमानचालक, परिचारिका र प्राविधिक कर्मचारीहरुलाई तालिम दिने लगायत सम्पूर्ण तयारी काम सकिसकेको छ । एयरलाइन्सले आफ्नो पहिलो गन्तव्य दिल्ली, दोहा, कतार बनाएको छ । केही महिनापछि चीनको ल्हासा, चेंगदु र बेइजिङ पनि उडान भर्ने तालिका बनाएको छ । हिमालय एअरलाइन्सले आगामी पाँच बर्षभित्र १५ वटा A320 सिरिजका जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तव्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालनको तयारी गरिरहेको छ । एअरलाइन्सले केही समयपछि जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाका लागि उडान भर्ने योजना बनाएको श्रेष्ठले जानकारी दिए ।