काठमाण्डौ । सिभिल बैंकको सेयरमूल्यमा खुलेआम चलखेलको प्रयास भएको देखिएको छ । 

सिभिल बैंक लिमीटेडले आफूलाई प्राप्ति गरिदिन अनुरोध गर्दै हिमालयन बैंकलाई एकतर्फी पत्र लेखेको आधारलाई प्रचारप्रसार गरी सेयरमूल्यमा खेल्ने काम भएको हो । 

हिमालयन बैंक लिमीटेडलाई सिभिल बैंकको संचालक समितिले औपचारिक रुपमा एक पत्र लेखेर आफूहरु हिमालयनमा बिलय हुन इच्छुक रहेको भन्दै मर्जरको प्रस्ताव पठाएको छ । गत बिहीबार नै पत्र पठाइए पनि शुक्रबार यो विषयलाई योजनाबद्ध रुपले सार्वजनिक भएको देखिएको छ । 

सिभिलले हिमालयन बैंकलाई मर्जरका लागि लेखेको प्रस्ताव हिमालयन बैंकले गठन गरेको मर्जर कमिटीमा पुगिसकेको छैन । यो प्रस्तावको विषयमा सोमबार मर्जर कमिटीमा छलफल हुँदैछ । तर, हिमालयनको मर्जर कमिटीमा पुग्नुअघि नै पत्र लेखेको विषय सार्वजनिक गरी सेयर मूल्यमा चलखेलको प्रयास गरिएको बजारका जानकारहरु बताउँछन् । 

हिमालयन बैंकको मर्जर कमिटीले सिभिल बैंकको सादा प्रस्ताव(सेयर स्वाप, संचालक, उच्च व्यवस्थापनमा कुनै प्रस्ताव वा शर्त राखिएको छैन)लाई कसरी लिन्छ भन्ने कुरा सोमबारपछि मात्र थाहा हुन्छ । 

यस्तै, सिभिलले पत्राचार गर्नेबित्तिकै उसलाई हिमालयनले लिइहाल्छ भन्ने जसरी हल्ला फिजाएर सेयरमूल्यमा राम्रै चलखेल गर्न खोजिएको भन्दै लगानीकर्ताहरुले यो विषयमा गम्भीर बनिदिन नेप्सेलाई आग्रह गरेका छन् । 

सामाजिक सञ्जालहरुमा कतिपय अगुवा लगानीकर्ताले त सिभिल बैंकको सेयरमा खुलेआम चलखेल भएको भन्दै सो बैंकको सेयर कारोबार केही दिन रोक्नुपर्ने माग समेत गरिरहेका छन् । 

दोश्रो बजारमा हिमालयन बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । सिभिल बैंकको चाहिँ १५० रुपैयाँ रहेको छ । प्रतिकित्ता १५० रुपैयाँको सेयरलाई बढाउने नियतले मर्जरको प्रस्ताव गरिएको गोप्य सूचना नियोजित रुपमै चुहाइएको प्रष्टै देखिने विश्लेषकहरु बताउँछन् । 

'सिभिल बैंकका सेयरधनी(संचालक)बाट नियोजित रुपमा यो सूचना चुहाएको देखिन्छ ।' एक विश्लेषकले भने-'यो विषयमा छानबिन हुनुपर्छ । चलखेल गर्नेलाई कारबाही हुनुपर्छ ।' 

सिभिल बैंकलाई हिमालयन बैंकले लिने संभावना कति छ ?
उच्च स्रोतहरुका अनुसार हिमालयन बैंकसँग विगत लामो समयदेखि नै मर्जरका लागि सिभिल बैंकले छलफललाई जारी राखेको थियो । ठूलो बैंकसँग केही सानो साइजको बैंकको मर्ज हुँदा सिनर्जी आउने राष्ट्रबैंकका अधिकारीहरुको समेत धारणा रहेकोले सिभिल बैंकलाई पनि मूल्य मिलेको खण्डमा लिने पक्षमा नै हिमालयन बैंक देखिएको छ । सिभिल बैंकलाई सस्तोमा उठाउन सकिएको खण्डमा राष्ट्रबैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जान दिइरहेको दवाब समेत स्किप गर्न सकिने रणनीतिमा हिमालयन बैंक देखिएको छ । यसकारण सिभिल बैंकको इच्छाले मात्र प्रस्ताव गएको हो भन्ने सकिने अवस्था छैन । हिमालयन बैंकको उच्च व्यवस्थापन कसैगरी पनि इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा नजाने पक्षमा छ । यी दुई बैंकबीच पारिवारिक इगो देखिन्छ । 

हिमालयन बैंकमा राणा परिवारको हालीमुहाली छ भने इन्भेष्टमेन्ट बैंकमा पाँडे परिवारको । राणा र पाँडे परिवारबीच कुटुम्बको सम्बन्ध छ । यी दुई परिवारको बैंक मिल्दा एकअर्का डोमिनेन्ट भइएला, आफ्नो प्रभाव गुम्ला भन्ने दुवै परिवारका सदस्यहरुमा त्रास देखिएको छ । यसकारण समेत दुवै बैंकमा प्रभाव जमाउने यी दुई समूह बाहिरका बैंकलाई लिएर राष्ट्रबैंकलाई चित्त बुझाउने र केही ठूलो बन्ने रणनीतिमा देखिन्छन् । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने संभावना बढ्दै गएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले समेत केही वाणिज्य बैंकसँग छलफललाई तीव्र पारेको छ । तर दशैंअघि इन्भेष्टमेन्ट बैंकले कुनै पनि बैंकसँग मर्जर सहमति गर्ने संभावना छैन ।