काठमाण्डौ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको संभावित मर्जरमा खटपट आएको विषयले अहिले पूँजीबजार तरङ्गित भएको छ। 

बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकबीच केही महत्वपूर्ण विषयमा कुरा मिल्न नसकेपछि हिमालयन बैंकले गोप्य रुपमा सिभिल बैंक र बैंक अफ काठमाण्डूसँग मर्जरका लागि छलफल चलाएको हल्ला पनि व्यापक बनेको छ । यही क्रममा नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सिटिजन्स बैंकसँग कुराकानी गरेको हल्लालाई व्यापक बनाइएको छ । के बजारमा चलेको हल्लाजस्तो हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर नहुने संभावना बढेको हो ? दुवै बैंक आ आफ्ना सहज पार्टनरको खोजीमा जुटेका हुन् ? वा, यी सबै फगत हल्ला मात्र हुन् ? 

हामीले यही विषय हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई सोधेका थियौं । राणाका अनुसार बजारमा चलेका हल्ला सबै निराधार हुन् । उनले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच चलिरहेको मर्जर सम्झौताको अन्तिम प्रयासमा कुनै खटपट नभएको दाबी गरे । 'हाम्रो अध्यक्ष ज्यू बिरामी परेका कारण बीचमा संवाद हुन नसकेको हो ।' उनले भने-'अब अप्रील १५(बैशाख २) गते हाम्रो संचालक समितिको बैठक छ, सो बैठकले अहिलेसम्मका कुराहरुलाई समेट्दै अगाडि बढ्नेछ ।' 

उनले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्झौता उत्कर्षमा पुगेको र अब दुवै बैंक यो वा त्यो बाहानामा भाग्नै नसक्ने ठोकुवा पनि गरे । 'अब मर्जर सम्झौतामा नगई धरै छैन ।' उनले थपे-'कुनै खटपट पनि आएको होइन र भाँडिने कुनै संभावना वा कारण पनि छैन ।' 

उनले अप्रील १५ को हिमालयन बैंकको संचालक समितिको बैठकपछि अहिलेसम्म थाँती रहेको विषय द्रूत  गतिमा अगाडि बढ्ने बताए । सो संचालक समितिले डिडिए रिपोर्ट पारित गरी इन्भेष्टमेन्ट बैंकसँग मर्जरका लागि सम्झौता गर्ने विषयमा समेत स्पष्ट मार्गनिर्देश गर्ने उनको आशा छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि नै संचालक समितिबाट डिडिए रिपोर्ट पारित गरिसकेको छ । सो बैंकले हिमालयन बैंकसँग मर्जरको सम्झौता गर्न आवश्यक सबै तयारी पूरा गरी कुरेर बसेको छ । 

यी दुई बैंकबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जर गर्दा न्यायोचित हुने डिडिए रिपोर्टले देखाएको छ । 

मर्जरपछि बन्ने बैंकको नामको विषयमा भने यी दुई बैंकबीच केही असहमितहरु देखिएका छन् । तर, दुवै पक्षले पछिल्लो समय नामको विषय सहजै टुंगिने दाबी गरेका छन् । 

मर्जपछि बन्ने बैंकको संचालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने सहमति छ भने सीइओको रुपमा अशोक राणाले निरन्तरता पाउनेछन् । ज्योतिप्रकाश पाण्डे वरिष्ठ डेपुटी सीइओको रुपमा रहने सहमति भइसकेको छ ।