काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले क्लास लिएपछि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरका लागि एमओयू गर्ने सहमतिमा पुगेका छन् । 

नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि राखेका केही शर्तहरुका कारण हिमालयन बैंक सहमतिमा जान हच्किएको थियो । खासगरी इन्भेष्टमेन्ट बैंकले मर्जरपछि बन्ने बैंकको सीइओको रुपमा दुईजना राख्नुपर्ने अडान नछाडेपछि मर्जरका लागि तत्काल एमओयू हुने संभावना टर्दै गएको थियो । 

नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरपछि बन्ने बैंकको संचालक समितिको अध्यक्ष पद दिएपछि सीइओ भने हिमालयन बैंकले पाउने यसअघि नै सहमति भए पनि इन्भेष्टमेन्ट पछाडि हटेको भन्दै यो प्रस्तावप्रति हिमालयनले आपत्ति जनाएको थियो । इन्भेष्टमेन्ट बैंकको दुईजना सीइओ राख्नुपर्ने प्रस्ताव बैंकिङको आम अभ्यासभन्दा विपरीत र अव्यवहारिक रहेको अडान हिमालयन बैंकले लिएपछि मर्जरको सम्झौताका लागि भएका प्रयासहरु शिथिल बनेका थिए । 

यो विषयमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले हस्तक्षेप नै गर्नुपरेको थियो । स्रोतकाअनुसार तीन दिनअघि नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले दुवै बैंकका संचालक समितिका अध्यक्षलाई बोलाएका थिए । उनले हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादु पाँडेलाई राष्ट्रबैंक बोलाएर मर्जर सम्झौतामा भइरहेको बिलम्बको विषयमा चासो राखेका थिए । सो क्रममा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले २ वटा सीइओ राख्ने प्रस्ताव गरेपछि गभर्नर केहीबेर रिसाएका थिए । उनले संसारमै नभएको अभ्यास नेपालमा हुन नसक्ने भन्दै इन्भेष्टमेन्ट बैंकले भनेजस्तो बैंकमा दुईवटा सीइओ राख्ने व्यवस्था नहुने र यसमा केन्द्रीय बैंकले सहयोग नगर्ने प्रष्ट पारेका थिए । 

गभर्नरले छलफल गरी इन्भेष्टमेन्ट बैंकले राखेको अडान गलत रहेको बताएपछि पाँडे एउटै सीइओ बनाउने विषयमा सहमत भई फर्किएपछि मात्र मर्जरका लागि जारी पूर्व तयारीले गति लिएको हो । 

स्रोतकाअनुसार गभर्नरले दुई घण्टा क्लास लिएपछि मात्र पाँडेले आफ्नो अडान छाडेका थिए । 

पाँडेले अडान छाडेपछि दुवै बैंकले बनाएका मर्जर कमिटीको आज संयुक्त बैठक बसेको थियो । सो बैठकले दुवै कमिटीले मर्जरका लागि तयार गरेको एमओयूको ड्राफ्ट पारित गरेको छ । 

एमओयूमा हिमालयन र इन्भेष्टमेन्ट बैंक गाभिएर बन्ने नयाँ बैंकको नाम ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ रहने भनिएको छ । तर मर्जरको एमओयू हुने बेलासम्म नाम पनि केही परिवर्तन हुनसक्ने बताइएको छ।

यस्तै, एकजना सीइओ मात्र रहने र त्यो अवसर हिमालयन बैंकले पाउने एमओयूमा उल्लेख छ । अध्यक्ष भने इन्भेष्मेन्ट बैंकलाई मान्ने भनिएको छ । यसको अर्थ यी दुई बैंक मर्जरपछि बन्ने नयाँ र ठूलो बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुनेछन् भने सीइओ अशोक राणा हुनेछन् । पाँडे र राणा नाताले आफ्नै सालाभेना हुन् । 

इन्भेष्टमेन्ट बैंकका अहिलेका सीइओ ज्योतिप्रकाश पाण्डे भने नयाँ बैंकको  डेपुटी सीइओमा बस्नुपर्नेछ । 

संयुक्त मर्जर कमिटीबाट पारित भएको एमओयूको ड्राफ्ट अब दुवै बैंकका संचालक समितिमा छलफलका लागि पेश हुनेछ । दुवै बैंकका संचालक समितिले सो पारित गरेपछि मात्र यी दुई बैंकबीच मर्जरका लागि एमओयू हुने मिति तय हुनेछ । 

स्रोतकाअनुसार छिटोमा बैशाखभित्र यी दुई बैंकबीच एमओयू हुनेछ । ‘तर, दुई बैंकबीच मर्जर टुंगिएर एकीकृत कारोबार सुरु हुन भने समय लाग्नेछ । संयुक्त कारोबार यही आर्थिक वर्षभित्र सुरु हुँदैन ।’ स्रोतले भन्यो–‘आगामी आर्थिक वर्षको पहिलो त्रैमासभित्र संयुक्त कारोबार गर्ने गरी हामी अगाडि बढेका छौं ।’ 

यी दुई बैंकबीचको मर्जरलाई उद्योगमै निकै चासोको साथ हेरिएको छ । यी दुई बैंकले यसअघि नै डिडिए गराइसकेका छन्, जसमा दुई बैंक १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जरमा जानसक्ने देखिइसकेको छ । केन्द्रीय बैंकले पनि उच्च प्राथमिकतामा राखेको यी दुई बैंकको मर्जर सफल भए यसले अन्य बैंकलाई समेत दवाबमा पार्ने र वाणिज्य बैंकहरुको हालको संख्या घटेर २७ बाट १५ भित्र सीमित हुने आशा गरिएको छ । 

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर भई ठूलो साइजको बन्ने भएपछि नवील बैंक समेत आवश्यक पूर्वतयारीका साथ बसेको छ । हिमालयन र इन्भेष्टमेन्टबीच मर्जरको एमओयू हुने समयकै आसपास नवीलले पनि एनबीबी र एनसीसी बैंकलाई प्राप्ति गर्ने आवश्यक तयारीहरु गरिरहेको छ । नवीलले यूनाइटेड फाइनान्ससँग प्राप्तिको सम्झौता शुक्रबार नै गरिसकेको छ । जे होस् हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि एमओयू गरेपछि वाणिज्य बैंकबीच ‘बिग मर्जर’को लहर सुरु हुने आशा गरिएको छ ।