काठमाण्डौ । हिमालयन बैंकको नाफा समेत खुम्चिएको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ४१ करोड नाफा कमाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले ४३ करोड ८३ लाख नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । व्यवसाय बिस्तारमा बैंक व्यवस्थापनले ध्यान नदिंदा यस्तो अवस्था सिर्जना भएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८२ करोड ६१ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर ७७ करोड ५४ लाखमा सीमित बन्न पुुगेको छ । 

यो अवधिमा बैंकले ९६ अर्ब १३ करोड निक्षेप संकलन गरी ८० अर्ब ७८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ९३ अर्ब २२ करोड निक्षेप संकलन गरी ७२ अर्ब १८ करोड कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकले संभावित जोखिम व्यवस्थापन कोषबाट मात्रै १९ करोड ८८ लाख फिर्ता ल्याएको छ भने संभावित जोखिम व्यवस्थापनबापत २० करोड ३४ लाख रुपैयाँ राखेको छ । 

यो बैंकको निस्क्रिय कर्जा पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १.१७ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर समीक्षा अवधिमा १.२४ प्रतिशतको उचाईमा पुुगेको छ । गत वर्ष २.६२ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ६.५९ प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८७.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.३५ गुुणा कायम भएको छ ।