काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन असार १९ गतेसम्म झन्डै १० गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

यो कम्पनीले गत असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यसमा आज बैंकिङ समयसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको थियो। जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको थियो। 

कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता (२ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज साँझसम्म यो आईपीओमा १६ लाख ३ हजार ९७५ आवेदकबाट कुल १ करोड ७९ लाख ७ हजार १९४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.७८ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि अब गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।