– अनन्त्य सुन्दर

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने तय भएसँगै दुवै कम्पनीको वैशाख २३ गतेदेखि कारोबार रोक्का भएको थियो। दुवै कम्पनीले मर्जरपछि साउन १ गतेदेखि हिमालयन एभरेस्ट इन्स्योरेन्स नाममा एकीकृत कारोबार सुरु गरिसकेका छन्।

हिमालयन एभरेस्टको नाममा आजबाट सेयर कारोबार खोल्ने तय भएको थियो। तर, आज मर्जरमा गएकोमध्ये एक कम्पनी अर्थात् हिमालयनको मात्र कारोबार खुलेको छ। आफ्नो सम्पत्ति बन्धक भएको भन्दै एभरेस्टका लगानीकर्ताको गुनासोसहित नेपाल धितोपत्र बोर्ड (सेबोन)सम्म पुगेका छन्।

नेप्सेको सूचीकरण शाखाको एक अधिकारीले हिमालयनको कारोबार भएको तर एभरेस्टको नभएकोमा नेप्सेबाट कुनै त्रुटि नभएको बताए। ‘दुईवटा कम्पनीको १ः०.८५ स्वाप रेसियोमा मर्जरपछि तय भएको कुल सेयर कित्ता (२ करोड २३ लाख) को धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार र सीडीएससीबाट प्राप्त भएको विवरणका आधारमा नै नेप्सेले सेयर फुकुवाको आवश्यक प्रक्रिया अघि बढाएको थियो’, ती अधिकारीले भने, ‘नेप्सेले प्राप्त विवरणअनुरुप नै आज हिमालयन एभरेष्टको नाममा कारोबार फुकुवा गरेको हो। एउटा कम्पनीको कारोबार फुकुवा हुँदैगर्दा अर्कोको नहुँदा नेप्सेबाट भन्दा पनि सीडीएससीबाट गम्भीर त्रुटि भएको देखिन्छ।’

सीडीएससीका एक उच्च अधिकारी नेप्सेले चिठी नै नपठाएका कारण एभरेस्टको कारोबार नखुलेको बताउँछन्। ‘कुनै पनि कम्पनीको आज कारोबार खुल्ने हो भने हिजो नै नेप्सेबाट पत्र आउनुपर्छ। तर, कारोबार फुकुवाबारे नेप्सेबाट सीडीएससीमा आजमात्र पत्र आएको छ’, ती अधिकारीले भने, ‘पत्र नै नआएपछि सेयर कन्भर्ट गर्नुपर्छ भनेर हामीलाई कसरी थाहा हुन्छ ?’ 

‘चिठी पठाएको भोलिपल्ट सिस्टमले सेयर कन्भर्ट गर्ने भएकाले हिजो नै चिठी पठाउनु पथ्र्याे। तर नेप्सेबाट उक्त चिठी आजमात्र आएको छ’, ती अधिकारीले भने।