काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ५३.८९ प्रतिशतले बढाउन सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ४३ करोड ७१ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि ९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिसम्म कुल बिक्री रकम ३ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षसम्म  बढेर ३ अर्ब ८९ करोड रुपैयाँ भएको छ।

गत आर्थिक वर्षसम्मको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरी पुँजी गरेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०३.३८ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १००.७६ रुपैयाँ रहेको थियो। कम्पनीको तरलता अनुपात१.९६ बाट बढेर २.७४ पुगेको छ।

गत वर्ष प्राप्त कारोबारभन्दा यस वर्षको चैत मसान्तसम्मको कारोबार वृद्धिको मुख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्रान्डको प्रतिष्ठाप्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता नै रहेको कम्पनीले जनाएको छ।