काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) को सेयरमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) भएको आशंका गरिएको छ।
यो कम्पनीले गत आर्थिक वर्षका लागि बम्पर लाभांश दिँदैछ भन्ने सूचना सञ्चालक समितिको बैठक बस्नुअघि नै चुहिएकै कारण यसको सेयरमूल्यमा इन्सारडर ट्रेडिङ भएको आशंका गरिएको हो। ‘सामान्य रुपले कारोबार भइरहेको यो कम्पनीको सेयरभाउ गत सोमबार दिन १० प्रतिशत बढ्यो, कारोबार पनि उच्च भयो’, एक बजार जानकारले भने, ‘यसरी सामान्य रुपमा कारोबार भइरहेको कम्पनीको सेयरभाउ एकाएक १० प्रतिशतले बढ्नु र उच्च कारोबार हुनुले यसमा इन्साइडर ट्रेडिङ भएको प्रस्ट रुपमा बुझ्न सकिन्छ।’
हिमालयन डिस्टिलरीको सेयरभाउ हिजो मंगलबार पनि झन्डै ३ प्रतिशतले बढेको थियो। जब कि हिजो बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभाको मिति तय गरेको थियो।
कम्पनीले गत आर्थिक वर्षका लागि ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश घोषणा गरेको छ।
अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी कुल १०० प्रतिशत नै लाभांश दिएको थियो।
यो वर्ष पनि १०० प्रतिशत लाभांश दिने र बोनस सेयर अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी आउने भन्ने सूचना पहिले चुहिएकोले एकाएक यो कम्पनीको सेयरमा उछाल आएको अर्का बजार जानकार बताउँछन्। ‘यस्ता सूचना सञ्चालक समितिमा रहेकै पदाधिकारीबाट चुहिने गर्छ’, उनले भने, ‘त्यसैले नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तत्काल यस विषयमा छानबिन गर्नुपर्छ।’
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले कुनै पनि कम्पनीको सेयरको भित्री कारोबार भएको हो वा होइन भन्ने विषयमा नेप्सेको सुपरिवेक्षण विभागले अनुसन्धान गर्ने बताए। ‘हिमलायन डिस्टिलरीको सेयरको भित्री कारोबार भएको भन्ने विषयमा उजुरी परेमा सुपरिवेक्षण विभागले अनुसन्धान प्रक्रिया अगाडि बढाउँछ’, उनले भने, ‘यदि पछिल्ला कारोबार अस्वाभाविक लागेमा विभागले आफैँ पनि अनुसन्धान गर्न सक्छ।’
यदि पहिल्यै सूचना चुहाएर भित्री कारोबार भएको हो भन्ने ठहर भएमा दोषीमाथि कारबाही गर्न नेप्सेले नेपाल धितोपत्र बोर्डलाई सिफारिस गर्ने पनि पराजुलीले जानकारी दिए।
धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९–मा ‘धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था’ गरिएको छ। जसमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख गरिएको छ।
ऐनको परिच्छेद ९ को उपदफा १०१ (१) मा भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ व्यवस्था छ।
त्यस्तै, उपदफा १०१ (२) मा भित्री सूचना सार्वजनिक गरी झुठो कारोबार गरेमा, मूल्यमा उतार चढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र १ वर्ष कैद वा दुवै कारबाही हुने व्यवस्था ऐनमा छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
16 hours ago