– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा प्राविधिक र आधारभूत विश्लेषण दुवै महत्वपूर्ण हुन्छन्। यर्थाथमा यी दुवै एक सिक्काका दुई पाटा हुन्। जसरी सक्कली तथा नक्कली नोट चिन्न दुवै पाटो पल्टाउन आवश्यक हुन्छ, त्यसरी नै लगानीकर्ताले कम्पनीको यथार्थ पत्ता लगाउन दुवै पक्ष केलाउन सेयर बजारमा आवश्यक छ। 

सेयर बजारमा विभिन्न विश्लेषकहरुका आ–आफ्ना मत र विश्लेषण गर्ने शैली फरक–फरक हुन सक्छ। तर, मर्म भने पक्कै एउटै नै हुनुपर्छ। 

‘अर्थशास्त्रमा ५ वटा अर्थशास्त्रीका ६ वटा निचोड’ भनेजस्तै प्राविधिक विश्लेषणमा पनि विभिन्न विश्लेषकहरुमा तर्क–वितर्क हुनु स्वाभाविक नै हो। तर, मूल सिद्धान्तको व्याख्या भने एउटै नै हुन्छ र हुनुपर्छ। 

खासगरी प्राविधिक विश्लेषण टे«डरहरुले प्रयोग गर्ने भएकोले यो हरेक लगनाकीर्ताले फरक–फरक औजार प्रयोग गरेर कारोबार गर्न सक्छन्। लगानीकर्ताले एउटै औजार र रणनीतिमा कारोबार गर्दा अनुशासित कारोबार हुने भएकोले सेयर बजारमा प्राविधिक विश्लेषणको भूमिका र महत्व अवश्य नै हुन्छ।

विश्वमा आज पनि वारेन बफेट आधारभूत विश्लेणबाट परिचत छन् भने आरएन इलिअट तथा लियोनार्दो फिवोनासी प्राविधिक विश्लेषणमा प्रख्यात रहेका पाइन्छ। सेयर कारोबार एक व्यापार भएकोले यसमा रणनीतिले मुख्य काम गर्छ भन्ने हाम्रो ठम्याइ रहेको छ। 

यसै सिलसिलामा आज हामीले हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) लाई आधारभूत तथा प्राविधिक रुपमा केलाउने कोसिस गरेका छौँ। 

आधारभूत पक्ष 

हिमालयन डिस्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादत तथा प्रशोधन समूहमा सूचीकृत छ। यो नेपालमा प्राइभेट कम्पनीअन्तर्गतसन् सन् १९८५ देखि  सञ्चालित रहेको छ भने सन् २००१ बाट पब्लिक कम्पनीअन्तर्गत सञ्चालित रहेको छ। यस कम्पनीमा ६२ प्रतिशत सेयर स्वामित्व संस्थापकको रहेको छ भने ३८ प्रतिशत सर्वसाधरणको रहेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब ३४ करोड ८१ लाख रुपैयाँ रहेको छ। कम्पनीको नेटवर्थ २५८.३७ रुपैयाँ छ। 

कम्पनीको प्रतिसेयर आम्दानी ९७.४ रुपैयाँ रहेको छ। 

पछिल्लो ३ आर्थिक वर्षमा यो कम्पनीले सतप्रतिशत लाभांश दिँदै आएको छ। जसमा २ आर्थिक वर्षमा ५० प्रतिशत बोनस र बाँकी नगद लाभांश रहेको थियो भने गत आर्थिक वर्षका लागि ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश रहेका छन्। त्यसअघिका आर्थिक वर्षहरुमा भने कम्पनीले नगद लाभांशमात्रै दिँदै आएको थियो। 

प्राविधि पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यसले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

इलिअट वेभमा ५ वेभ र नौ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। 

यो कम्पनीको हालको मूल्यलाई एउटा चार्टमा राखेर हेर्दा अहिलेको वृद्धि इन्टरमिडियट डिग्रीको वेभ (१) म बढेर ८००० रुपैयाँसम्म हुन सक्नेछ भने सोही डिग्रीको वेभ (२) मा करेक्सन भएर ६७०० रुपैयाँसम्म र वेभ (३) मा ९६५८ रुपैयाँसम्म हुन सक्नेछ। 

त्यसैगरी वेभ (४) मा ८४१९ रुपैयाँ र वेभ (५) मा बढोत्तरी फिवोनासी एक्सटेन्सनको २.६१ प्रतिशतको वृद्धिले यसको मूल्य अबको दुई वर्षमा १२३१७ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। 

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा ७११९ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा ६५४४ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा ६११९ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवा ५७३१ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने डिसेम्बर २२ का दिन एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ। (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम सकारात्मक भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरको मूल्य बढ्न सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखाले माथिल्लो रेखालाई छोएको छ र रातो क्यान्डल बनेको देखिन्छ। यदि आगामी कारोबारमा हरियो क्यान्डल बन्छ भने यो कम्पनीको सेयरमूल्य बढ्न सक्ने देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। 

यस कम्पनीको हालको आरएसआई ४८.७३ रहेको छ। अघिल्लोपटक यो न्युन विन्दु १९.५४ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम बिन्दु ६०.५१ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यदि ६० बाट माथि गएमा बुलिस यात्रा तय हुन सक्ने देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध

  • प्रतिरोध १– ७०५४
  • प्रतिरोध २– ७६१२
  • प्रतिरोध ३– ७९१७

पिभट प्वइन्ट : ६७४९

घटेमा सपोर्ट 

  • सपोर्ट १– ६११९  
  • सपोर्ट २– ५८८६
  • सपोर्ट ३– ५३२८

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका सिफारिस भने होइन।