काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलायन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्यूएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको छ।

यस प्रमाणीकरणले हिमालय एयरलायन्सकोे सम्पूर्ण अपरेसन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयानमर्मत तथा इन्जिनियरिङ सेवा प्रदान गर्नसक्ने दक्षता पुष्टि गर्दछ। आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो। जसले एक प्रभावकारी गुणस्तर प्रणालीमार्फत उत्पादन र सेवाहरुले ग्राहकका आवश्यकता पूरा गर्न सुनिश्चित गर्दछ।

हिमालय एयरलायन्सको आईएसओ ९००१–२०१५ मान्यतामा काम गर्ने प्रतिबद्धताले ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरु निरन्तर प्रदान गर्नसक्ने क्षमतालाई प्रदर्शन गर्दछ। आईएसओ ९००१–२०१५ अनुरुप बन्न एयरलायन्सले व्यापक कम्पनी अडिटलाई अंगिकार गरेकोे छ। जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मूल्यांकन र नन–कन्फर्मेन्सको निकासी समावेश थियो। 

हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धि भएको बताए। ‘यसले हाम्रा ग्राहकलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ’, उनले भने। 

आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित भई निर्मित छ। जसमा ग्राहकलाई केन्द्रित गरी सेवा पुर्याउने, उच्चस्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रक्रिया अवधारणा र एक प्रक्रियाको लगातार सुधार समावेश छ। ‘आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा हाम्रा ग्राहकले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्दत गर्नेछ, जसले एयरलायन्समा धेरै व्यावसायिक लाभहरु ल्याउनेछ’, श्रेष्ठले भने। 

प्रमाणीकरणपश्चात हिमालय एयरलायन्सले हालसालै गत महिना मलेसियन एयरलायन्स बरहाड (एमएच) सँग सम्झौता गरेको छ। मलेसियन एयरलायन्स एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कसप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतका लागि परिचित छ। यस सहकार्यका साथ अब हिमालय एयरलायन्स लाइन स्टेसन स्थापनाका लागि सुसज्जित भएको छ र वर्कसप क्षमताको वृद्धिसँगै अन्य एयरलायन्सबाट आयआर्जन गर्न इन्जिनियरिङ व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिने जनाइएको छ।