काठमाण्डौ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकालाई आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) ब्यानरअन्तर्गत पुनः सहयोग प्रदान गरेको छ।

एअरलाइन्सले अंग्रेजी नयाँ वर्ष पूर्वसन्ध्यामा वर्षभरि पुग्ने परिमाणमा बालबालिकालाई कपीहरु प्रदान गरेको हो। विद्यमान महामारीलाई ध्यानमा राख्दै एअरलाइन्सले कोभिड–१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीसमेत प्रदान गरेको छ।

सन् २०२०को डिसेम्बर ३१ मा प्रयास नेपालको छोटो अवलोकन भ्रमणका क्रममा हिमालय एअरलाइन्सका पदाधिकारीहरूले प्रयास नेपालका पदाधिकारीहरूलाई शैक्षिक र चिकित्सा सामग्रीहरू कोभिड–१९ का सम्पूर्ण सुरक्षामापदण्ड अपनाएर हस्तान्तरण गरे । प्रदान गरिएका सामग्रीमा १ हजार ६५० वटा कपी, दुई इन्फ्रारेड थर्मोमिटर, २ बोतल ह्यान्ड सेनिटाइजर र १ हजार थान फेस मास्क छन्।

हिमालय एअरलाइन्सले विगत वर्षहरुमा झैँं त्यस संस्थाका लागि आवश्यक शैक्षिक सामग्री, खाजानास्ता र अन्य उपभोग्य सामग्रीहरुका निरन्तर आपूर्ति गर्दै योगदान पुर्याएको थियो।