काठमाण्डौ । हिमालय एअरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डंगोलसहितको सगरमाथा आरोहण टोलीले सन् २०२२ को मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको छ। 

स्थानीय समयअनुसार जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन्। उनी मे २० मा काठमाण्डौ फर्किएकी छन्। गैरीधारामा अवस्थित मुख्य कार्यालयमा हिमालय परिवारद्वारा उनलाई न्यानो स्वागत गरेको छ। 

एअरलाइन्सद्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङ र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए र यस गौरवको क्षणलाई एकसाथ मनाएका थिए। टोलीलाई बधाइ दिँदै उनले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो। ॐनिका डंगोलले हिमालयको झन्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुसी छौँ। यस परियोजनामा धेरै जोखिम र चुनौती थिए र म हरेक दिन उनको सुरक्षाका लागि चिन्तित थिएँ। तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले यो परियोजना सफल हुनेछ भन्नेमा म विश्वस्त थिएँ। हिमालय एअरलाइन्सका लागि यो वास्तवमै सुखद उपलब्धि हो। यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ। जसमा हिमालयले सदैव विश्वास राख्दछ।’

हिमालयले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एअरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले सुरु गरेको थियो। तत्पश्चात् एअरलाइन्सले आफ्नी उडान परिचारिका डंगोलका साथ विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने तयारीमा विशेष जोड दिएको थियो। 

डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छन्। 

सगरमाथा आरोहण परियोजनाले चरम प्रतिकूल परिस्थितिका बाबजुद पनि हिमालयले देखाउने लगनशीलता र साहसको प्रतिकात्मक प्रतिनिधित्व गर्दछ। विगतका वर्षहरुमा हिमालयले धेरै चुनौती र अवरोधको सामना गर्नुपरेको थियो। हिमालयले ती चुनौती र अवरोधलाई दृढ इच्छाशक्ति र दृढ संकल्पका साथ पार गर्दै आएको छ। 

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हिमालय एअरलाइन्स्का मुख्य उद्देश्यहरुमध्ये नेपाली पर्यटन प्रवर्द्घन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवर्द्घनमा हिमालयको एउटा सानो कदम मात्र हो। हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौँ।’

परियोजना सफल रुपमा सम्पन्न भएपछि डंगोलले भनिन्, ‘सर्वोच्च शिखरमा हिमालय एअरलाइन्सको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको क्षण थियो। मेरो यात्रामा धेरै चुनौती थिए तर मेरो ध्यान सधैँ केवल शिखरमा पुग्नुमा थियो। यस्तो जीवनमै एकपटक मात्र पाउन सक्ने यस विशेष अवसरको मलाई अनुभव गर्न दिनुभएकोमा म हिमालय एअरलाइन्स् प्रति आभारी छु।’

हिमालयको सगरमाथा आरोहण सन् २०२२ को अप्रिल १३ अर्थात् नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भएको थियो भने सन् २०२२ को मे १६ मा सफल शिखर आरोहण पश्चात् समापन भएको छ।