काठमाण्डौ ।  आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दै आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको लागि हिमालय एअरलाइन्स्ले जुलाई १५,२०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ।

निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाई १५, २०२२, शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ०९ः१७ बजे काठमाडौं अवतरण गरेको थियो। 

उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो। एअरलाइन्स्ले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्नेछ।

अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहेकोमा हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको दाबी छ ।

नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो । यससन्दर्भमा काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको हिमालयन एयरलाइन्सले बताएको छ । 

एअरलाइन्स्को एअरबस् ३२० लाई प्रयोग गरिने यस रुटको टिकट बुकिङ्गका लागि यात्रुहरूले हिमालय एअरलाइन्स्को बिक्री कार्यालय वा नजिकको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।