काठमाण्डौ । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ गते चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको छ। 

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९, ९एन एजेकेको उडान नं. एच९ ७२२०ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति ११.०७ बजे (स्थानीय समय) मा प्रस्थान गरिएको होे। छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७.५५ बजे (स्थानीय समय) मा अवतरण गरिएको छ।

छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन २६ मा अपराह्न ३ बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान एच९ ७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किनेछन्। सोही दिन अपराह्न ४.५० मा (स्थानीय समय) काठमाण्डौ आइपुग्ने अपेक्षा गरिएको छ। 

सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात ठप्प भएको थियो। यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि हिमालयले गत मे ३१ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो। 

काठमाण्डौबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो।