काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९ औं शाखा हेटौडामा बिस्तार गरेको छ । 

नवनिर्मित शाखाको एक समारोहका बीच हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले उद्घाटन गरे । 

सो अवसरमा उनले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ्ग सेवालाई शहरमा मात्र केन्द्रित नगरी ग्रामीण तथा सुदुर क्षेत्रका स्थानीय तहहरुमा विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अतिथि उद्योग बाणिज्य संघ हेटौंडाका अध्यक्ष राजकुमार न्यौपानेले डेभलपमेण्ट बैंकले हेटौंडामा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै ब्यापारिक कर्जा भन्दा पनि प्रोजेक्टमा आधारित कर्जामा लगानी बढाउन सुुझाव दिए ।

कार्यक्रममा सिद्धार्थ डेभलपमेण्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले सो शाखामा जडान गरिएको एटिएम मेशिनको उद्घाटन गर्दै डेभलपमेण्ट बैंकको जनता बैंक नेपाल लिमीटेडसँग एक्विजिशन प्रक्रिया टुंगिन लागेको जानकारी दिँदै दुई सवल बैंकहरुको एकीकृत कारोवारबाट उच्चस्तरको बैकिङ्ग सेवा अभिबृद्विका लागि सहयोग पुग्ने बताए । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सिद्वार्थ डेभलपमेण्ट बैंक व्यावसायिक तथा साँगठनिक रुपमा सबल डेभलपेण्ट बैंक रहेको र जनता बैंक नेपाल लिमीटेडसँगको एकिकृत कारोवारले नेपालको बैकिङ्ग क्षेत्रमा एक सवल, सक्षम र उच्च व्यवसायिक बैंकको रुपमा गुणात्मक बृद्धि गरी वित्तीय पहुँच विस्तार गर्ने दृढता व्यक्त गरे ।
शाखा समुदघाटन समारोहमा उद्योगी तथा समाजसेवी अरुण सुमार्गी लगायत हेटौंडाका उद्योगी व्यापारीहरुको उल्लेख्य सहभागिता थियो । 

जनता बैंक नेपाल लि.सँग एक्विजिशन हुने अन्तिम चरणमा रहेको सिद्वार्थ डेभलपमेण्ट बैंकको एक्विजिशन पश्चात जनता बैंक नेपाल लिमीटेडका नेपालभर रहेका ११३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न सकिने सो अवसरमा बताइएको थियो ।