काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा एकैदिन ७५ अंकको उछाल आएको छ ।

साताको पहिलो दिन आज नेप्से परिसूचकमा ७५.०२ अंकले बढ्दा सवा ९ अर्ब रुपैयाँ हाराहारी कारोबार भयो । 

परिसूचकले अलटाइम हाई ब्रेक गरी बुलिस ट्रेण्डतर्फ उन्मुख हुँदा अब नेप्से रकेट गतिमा बढ्ने लगानीकर्ताको बलियो मनोबललाई इण्डेक्स र कारोबार रकमको उल्लेख्य वृद्धिले समेत साथ दिएकोले आगामी दिन बजार अझै बढ्ने विश्लेषकहरुको आँकलन छ ।

अघिल्लो साता नेप्से परिसूचक १७०० विन्दू पुगेका बेला कतिपय संस्थागत लगानीकर्ताले सेयर बिक्री गरी नाफा बुक गरेका र बजार करेक्सनमा आउने तिनीहरुको अपेक्षाविपरीत बजार अलटाइम हाईलाई ब्रेक गर्दै अगाडि बढेपछि आजैबाट त्यस्ता लगानीकर्ता पनि आक्रामक रुपमा बजारमा प्रवेश गर्न थालेका ब्रोकरहरु बताउँछन् । यसले पनि आजको बजारमा उछालको अवस्था सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको हो । 

बजारले विभिन्न सेक्टरहरुमा उछाल ल्याइसकेपछि अधिक आपूर्तिका कारण बढ्न बञ्चित बैंकिङ सेक्टर आजबाट भने निकै आक्रामक रुपमा दगुरेको छ । आम लगानीकर्ताहरुको बैंकप्रतिको सहानुभूति र सस्ता सेयरमूल्य भएका बैंकहरुप्रतिको आकर्षक केही दिनसम्म जारी रहने विश्लेषकहरु जिकिर गर्छन् । 

आज मात्रै पनि सबैभन्दा धेरै कमाउने शीर्ष १० स्थानमा लगभग सबैमा बैंकले नै कब्जा गरेका छन् भने नेप्सेको मार्केट डेप्थको अध्ययन गर्दा बैंकका सेयर बिक्री गर्ने नै कोही पनि नभएको रोचक दृष्य देखिन सकिन्थ्यो । अरु बेला फालाफाल बैंकका सेयरमा आजदेखि एकाएक खरीद चाप देखिँदा लगानीकर्ताहरु सिफ्ट हुँदै लगानी गरिरहेका समेत बुझ्न सकिन्छ । प्रत्येक बुलिस ट्रेण्डमा पैसा बनाउन लगानीकर्ताहरुले अपनाउने रणनीति पनि हो यो । 

नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने बाँकी ४ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूहमा सर्वाधिक २४५.७५ अंकको उछाल आएको छ। विकास बैंक समूह १७३.८४ अंकले बढेको आज बैंकिङ समूह ११२.३२ अंकले उकालो लागेको छ। आज लघुवित्त समूह २७.७५ अंक, जलविद्युत् समूह २६.६६ अंक, वित्त समूह १२.२७ अंक, अन्य समूह ०.२५ अंक र म्युचुअल फन्ड समूह ०.०५ अंकले बढेका छन्।

आज निर्जीवन बीमा समूहमा सर्वाधिक ४५.५५ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ३७.२७ अंकले घटेको यो दिन व्यापार समूह ३५.३७ अंक र होटेल्स् समूह ७.६८ अंकले घटेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २०० कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँमा कारोबार भएको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५१ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। कुमारी बैंकको ४० करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नबिल बैंकको ३३ करोड ५६ लाख रुपैयाँ, प्रभु बैंकको ३३ करोड १९ लाख रुपैयाँ, नेपाल बैंकको ३२ करोड ४५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २७ करोड ९५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड ३९ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २३ करोड ९८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २३ करोड ८९ लाख रुपैयाँ र नेपाल टेलिकमको २३ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएका छन्।

धेरै कमाउने र धेरै गुमाउने
आज १८ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। तीमध्ये अधिकांश बैंक छन्। यो दिन ग्रिन डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यस्तै सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, कुमार बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, एनसीसी बैंक र सिभिल बैंकको सेयरमूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

आज लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक  मितेरी बैंकको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन

यो दिन विशाल बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ।