काठमाण्डौ । सरकारले राजधानीको दरबारमार्गस्थित होटेल याक एन्ड यती बन्द गर्न निर्देशन दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट होटेल याक एन्ड यतीको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गर्दै बन्द गर्न निर्देशन दिएको हो। करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै सरकारले याक एन्ड यतीलाई होटेल तथा क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ।
पटक–पटक ताकेता गर्दा पनि सरकारलाई रोयल्टी नबुझाएपछि पर्यटनमन्त्री प्रेम आलेले बुधबार साँझ याक एन्ड यती होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजतपत्र र होटेल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने निर्णय गरेका हुन्।
पर्यटन विभागका अनुसार पछिल्लो पटक गत माघ १९ मा गोरखापत्र दैनिकमा सातदिने सूचना निकालेको थियो। विभागका अनुसार २०४८ पुस २२ मा मन्त्रालयबाट क्यासिनो सञ्चालनको इजाजत पाएको याक एन्ड यतीले २०७० यता रोयल्टी बुझाएको छैन।
यसैगरी सरकारले बक्यौता नतिरेपछि नेपालगन्जको ड्रिमल्यान्ड होटेल र क्यासिनो बन्द गर्ने निर्णय गरेको छ। ड्रिमल्यान्ड होटेल र त्यहाँ रहेका आधुनिक उपकरणबाट खेलाइने क्यासिनो बन्द गर्ने निर्णय गरेको विभागले जनाएको छ।
यी दुवै होटेलैलाई राजस्व दाखिलाका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले ताकेता गर्दै आएको थियो। त्यसका लागि पटक–पटक सूचना जारी गरिएको थियो।
विभागले मन्त्रालयको निर्णय कार्यान्वयनका लागि बुधबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सहयोगका लागि पत्र पठाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाउँदै याक एन्ड यती होटेलको नाममा रहेका सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन आग्रह गरिएको छ।
त्यस्तै विभागले नेपाल राष्ट्र बैंकलाई याक एन्ड यती होटेलका नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएको छ।
नेपालगन्जको होटेल प्रदेश सरकारमातहत रहने भएकाले विभागले दर्ता भएको देखिए खारेज गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।
8 hours ago
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago