काठमाण्डौ । अमेरिकाले चीनमाथि ह्याकरको मद्दतले कोरोना भ्याक्सिन विकासमा जुटेका कम्पनीहरुमाथि जासुसी गरेर महत्वपूर्ण सूचनाहरु चार्ने कोसिस गरिरहेको आरोप लगाएको छ।

अमेरिकी अधिकारीहरुले चिनियाँ दुईजना ह्याकरले कोरोना भ्याक्सिनमा शोध गरिरहेका अमेरिकी कम्पनीमाथि जासुसी गरिरहेको दाबी गरेका छन्। ती अधिकारीहरुले ती ह्याकरलाई चीन सरकारले यस कार्यका लागि मद्दत गरिरहेको आरोप पनि लगाएका छन्। 

अमेरिकाले चिनियाँ साइबर जासुसीविरुद्ध अभियान चलाएको छ। यही क्रममा भ्याक्सिन विकासमा चिनियाँ ह्याकहरुले जासुसी गरिरहेको अधिकारीहरुले दाबी गरेका हुन्।

अमेरिका चिनियाँ नागरिक ली शियाओयू र डाँग जियाजीमाथि यस्तो आरोप लगाएका हुन्। यी दुवै इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी हुन्। यी दुवै विद्यार्थी चीनमा छन् र त्यहीँबाट चिनियाँ सरकारको मद्दतमा भ्याक्सिन सम्बन्धी महत्वपूर्ण सूचना चार्ने कोसिस भइरहेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन्। 

अमेरिकाले यी दुई विद्यार्थी गत जनावरीमा पनि कोरोना उपचारमा महत्वपूर्ण अनुसन्धान गरिरहेको म्यासाचुसेट्सस्थित एउटा बायोटेक फर्मको सूचना प्रणाली ह्याक गर्ने कोसिस गरेको दाबी गरेको छ। यी दुवै म्यारील्यान्डस्थित एउटा कम्पनीको प्रणाली पनि ह्याक गर्ने कोसिस गरेको अमेरिकी अधिकारीहरुले खुलाएका छन्। 

अमेरिकाका अनुसार यी चिनियाँ विद्यार्थीहरुले हालै कोरोना भ्याक्सिनमाथि काम गरिरहेका अस्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्यान्डस, स्पेन, स्विडेन र बेलायतस्थित त्यस्ता कम्पनीलाई निसाना बनाउने कोसिस गरेका थिए। 

गत साता बेलायत, अमेरिका र क्यानडाले रुसमाथि कोरोना भ्याक्सिनसँग जोडिएका रिसर्च चोरेको आरोप लगाएका थिए। – एजेन्सी