काठमाण्डौ । कोभिड–१९ का संक्रमणका कारण पाका उमेरका व्यक्तिहरु बढी प्रभावित हुन्छन् भन्ने आम बुझाई छ । तर, इटलीमा एउटा यस्तो घटना भएको छ, जसका आधारमा यो बुझाई सही होइन भन्न सकिन्छ । 

इटलीको तटीय शहर रीमीनीमा एक १०१ वर्षीय वृद्धले कोरोना भाइरसको संक्रमणमाथि जित हासिल गरेका छन् । 

यसको संक्रमणबाट इटलीमा हालसम्म ८१ हजार बढी संक्रमित भइसकेका छन् । ८ हजार बढी मानिसको मृत्यु भइसकेको छ । 

समाचार एजेन्सी सिन्ह्वाका अनुसार मिस्टर पी नामले चिनिइने ती व्यक्ति हालसम्म विश्वभरमै कोरोना संक्रमणमाथि जित हासिल गर्ने सबैभन्दा पाका उमेरका व्यक्ति बन्न सफल भएका छन् । 

रीमीनीका उपमेयर ग्लोरिया लिसीलाई उद्धृत गर्दै समाचारमा भनिएअनुसार १९१९ मा जन्मिएका मिस्टर पीमा कोरोना पोजेटिभ पुष्टि भएपछि एक साताअघि त्यहाँको अस्पताल ओस्पेदेल इनफर्मी डी रामिनीमा भर्ना गरिएको थियो । 

बिहीबार एक टेलिभिजन साक्षात्कारमा उपमेयर लिसीले भनेका छन् कि जब ती व्यक्तिको स्वास्थ्यमा चमात्कारि सुधार भयो, अस्पताल रहुञ्जेल उनी सेलिब्रेटी नै बन्न पुगे । 

लिसीले भनेका छन्-'इटलीका प्रत्येक व्यक्तिले जब १०० वर्ष अधिक उमेर भएको व्यक्तिले कोरोना संक्रमणमाथि जित हासिल गरेको देखे, सुने, यसले देशैभर एकखालको आशाको सञ्चार गराइदिएको छ ।  ती वृद्धलाई परिवारले घर लगिसकेको छ । र, यो घटनाले एउटा पाठ पनि सिकाएको छ कि मानिसको भविष्य १०१ वर्षको उमेरमा पनि समाप्त हुँदैन ।' 

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपालमा समेत लकडाउन जारी छ । नागरिकहरुमा त्रास फैलिइरहेको बेला मिस्टर पी ठीक भएको समाचार एक सकारात्मक र प्रेरणादायी खबर हुनसक्छ ।