काठमाण्डौ । वाणिज्य बैंकहरुले माघ महिनामा ब्याजदर घटाउने निर्णय गरेका छन्। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज साँझा बसेको बैठकमा बैंकहरुबीच माघ महिनामा ब्याजदर घटाउने सहमति भएको हो। बैंकहरुबीच व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई *९.३३८ प्रतिशतले घटाउने सहमति बनेको हो। 

योसँगै संस्थागत मुद्दति निक्षेपको ब्याजदरसमेत समान अनुपातमा घटेको छ। 

वाणिज्य बैंकहरुले माघमा व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम गर्ने भएका छन्। 

बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिने ब्याजदरमा २ प्रतिशतको अन्तर कायम गर्दै आएका छन्। यही व्यवस्थाअनुसार संस्थागत निक्षेपको ब्याज अधिकतम ९ प्रतिशत कायम भएको हो। 

मुद्दति निक्षेप र बचतको ब्याजदर अन्तर ५ प्रतिशत राख्नुपर्ने नियम भएकोले अब बचतको ब्याजदर पनि सोही अनुपातमा घट्नेछ। 

यसअघिको समाचारमा ९.३३८ प्रतिशतले ब्याजदर घटाउने निर्णय भएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

-सम्पादक