काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ अर्ब ४७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खूद नाफा २ अर्ब १७ करोडमा सीमित थियो । 

बैंकले संभावित जोखिम व्यवस्थापनबाट १ अर्ब ७ करोड बढी राइटब्याक गरी नाफा बढेको वित्तीय विवरण पस्किएको हो । 

बैंकले २ अर्ब ४४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब ६५ करोडको उचाई चुमाएको छ भने व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ७६ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ४ अर्ब २२ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा हिमालयन बैंकले ९९ अर्ब ७४ करोड निक्षेप संकलन गरी ८६ अर्ब ८४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९२ अर्ब ८८ करोड निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले समीक्षा अवधिमा जगेडाकोषलाई भने निकै तगडा बनाएको छ । अघिल्लो वर्ष ३ अर्ब ५९ करोड रहेको कोष ६ अर्ब ८ करोड रकम जम्मा भएको छ । 

बैंक व्यवस्थापनको लापरबाहीका कारण खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ०.८७ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ०.९८ प्रतिशत पुगेको हो । 

बैंकको कस्ट अफ फण्ड ६.४२ प्रतिशत रहेको छ भने समीक्षा अवधिसम्म सीडी रेसियो ७७.०२ प्रतिशत तथा बेस रेट ९.६६ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी(इपीएस) ३०.५० रुपैयाँ(केन्द्रीय  बैंकको निर्देशिका अनुसार) तथा ३२.८१ रुपैयाँ(एनएफआरएसअनुसार) रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५(केन्द्रीय बैंकको निर्देशिका अनुसार) तथा १९०.३३(एनएफआरएसअनुसार)रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात माथिका दुई विधि अनुसार क्रमशः १८.०७ तथा १६.८० गुणा कायम भएको छ ।