काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्येबाट मुक्तिनाथ विकास बैंकले धेरै सूचकमा आफूलाई पहिलो नम्बरमा उभ्याउँदै उत्कृष्ट बनेको छ । 

बिजशालाले विकास बैंकहरुले प्रकाशन गरेको दोश्रो त्रैमासको वित्तीय विवरणका आधारमा १० वटा मुख्य सूचकलाई लिएर गरेको तुलनात्मक अध्ययनमा ५ वटा सूचकमा मुक्तिनाथ विकास बैंकले पहिलो स्थानमा कब्जा जमाएको हो । 

पछिल्लो समय लगातार वाणिज्य बैंकहरुलाई समेत टक्कर दिंदै आएको यो बैंकले दोश्रो त्रैमासको खूद नाफा, संचालन मुनाफा, निक्षेप तथा कर्जा परिचालन, खराब कर्जा लगायतमा पहिलो स्थान बनाउन सफल भएको हो । 

बैंकले खूद ब्याज आम्दानी, वार्षिकीकृत प्रतिसेयर आम्दानी जस्ता सूचकमा पनि राम्रो प्रदर्शन गरेको छ । यी सूचकमा बैंक दोश्रो स्थानमा छ । रिजर्ब, बेस रेट लगायतमा पनि बैंकको अवस्था उति खराब देखिन्न । 

महत्वपूर्ण सूचकका आधारमा हेर्दा गरिमा विकास बैंकले दोश्रो स्थान सुरक्षित गरेको देखिएको छ । यो बैंक खूद नाफा, संचालन मुनाफा, कर्जा परिचालन जस्ता महत्वपूर्ण सूचकमा दोश्रो स्थानमा छ । खूद ब्याज आम्दानीमा तेश्रो स्थान, निक्षेप परिचालनतर्फ पनि तेश्रो स्थान तथा इपीएसमा भने चौथो स्थानमा छ । रिजर्ब र एनपिएलतर्फको बैंकको अवस्था सन्तोषजनक नै देखिन्छ । 

महत्वपूर्ण मानिने १० वटा सूचकमा कुन विकास बैंकको अवस्था कस्तो देखियो ? कुन बैंकको प्रगतिको अवस्था कस्तो देखियो ? हेरौं बुँदागत विश्लेषण:

खूद नाफा
खूद नाफातर्फ सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ । तर, खूद नाफातर्फको प्रगतिमा भने तिनाउ मिसन डेभलपमेन्ट बैंकले सबैलाई उछिनेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा खूद नाफा १५७ प्रतिशतले बढाएको छ । ज्योति विकास बैंकको नाफातर्फको प्रगति पनि निकै दमदार छ । यो बैंकले खूद नाफातर्फ ६४.७८ प्रतिशतको ग्रोथ हासिल गरेको छ । १७ करोड ४ लाखमा सीमित नाफा बढाएर यो वर्ष २८ करोड ८ लाखको उचाई चुमाएको छ । 

महालक्ष्मी विकास बैंकले पनि नाफामा छलाङ मारेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो बैंकको नाफा ५४.३५ प्रतिशतले बढेको देखिएको छ । 

सबैभन्दा बढी नाफा कमाउन सफल मुक्तिनाथ विकास बैंकको नाफातर्फको ग्रोथ समेत आउटस्ट्याण्डिङ नै देखिन्छ । अघिल्लो वर्षको पुस मसान्तसम्म ३२ करोड ९८ लाखमा सीमित मुक्तिनाथको नाफा ४३.२६ प्रतिशतले बढेर यो वर्षको सोही अवधिसम्म ४७ करोड २५ लाख पुगेको छ । 

गण्डकी विकास बैंक र देवः विकास बैंकले भने नाफातर्फको प्रदर्शन गत वर्षको तुलनामा खराब गरेका छन् । दुवै बैंकको नाफा घटेको छ।

संचालन मुनाफा
आकारको हिसाबले संचालन मुनाफामा मुक्तिनाथ विकास बैंक सबैभन्दा माथि रहेको छ । तर, संचालन मुनाफामा ग्रोथको हिसाबले हेर्दा साइन रेसुंगा डेभलपमेन्ट बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंक अगाडि छन् । 

ज्योति विकास बैंकले अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा संचालन मुनाफामा ६४.८ तथा महालक्ष्मी विकास बैंकले ६२.९७ प्रतिशतको छलाङ मारेका छन् । साइन रेसुंगाले ५१.१५ प्रतिशत तथा तिनाउले  १४५.२ प्रतिशतको फड्को मारेका छन् । सबैभन्दा बढी संचालन मुनाफा आर्जन गर्ने मुक्तिनाथको ग्रोथ भने ८.६६ प्रतिशत मात्र छ । 

गण्डकी विकास बैंक र देवः विकास बैंकको संचालन मुनाफा घटेको छ । 

खूद ब्याज आम्दानी
व्यवसाय बिस्तार गरेर कम लागतमा स्रोतको व्यवस्थापन गर्न सक्ने र आफूले प्रवाह गरेको सेवाबाट राम्रो आम्दानी गर्नसक्ने पनि बैंकिंग क्षेत्रको महत्वपूर्ण कला हो । यो कला जसले राम्रो ढंगले देखाउन सक्यो, उसको खूद ब्याज आम्दानी निकै राम्रो हुन्छ । खूद ब्याज आम्दानीमा रकमको आकारको हिसाबले लुम्बिनी विकास बैंक नम्बर वान बनेको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ११ करोड खूद ब्याज आम्दानी गरेको छ । दोश्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको खूद ब्याज आम्दानी १ अर्ब ९ करोड रहेको छ । तर, अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा मुक्तिनाथ विकास बैंकले खूद ब्याज आम्दानीमा १८.५९ प्रतिशत र लुम्बिनीले ११.५५ प्रतिशतको प्रगति गरेको देखिन्छ । 

अधिकांश सूचकमा आफूलाई सुधार गर्दै अगाडि बढेको ज्योति विकास बैंकले ५७.९२ प्रतिशतको फड्को मार्दै खूद ब्याज आम्दानीको आकार ७३.६९ करोडको उचाईमा पुर्याएको छ । 

यो सूचकमा ग्रोथको हिसाबले हेर्ने हो भने साइन रेसुंगा, तिनाउ मिसन र ज्योति विकास बैंक अगाडि छन् । 

समीक्षा अवधिमा विकास बैंकहरुको नाफा, संचालन मुनाफा र खूद ब्याज आम्दानीतर्फको प्रगति कस्तो रह्यो ? टेबलबाट हेर्नुहोस्:

डिपोजिट, लोन र रिजर्ब
चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा विकास बैंकहरुले डिपोजिट, लोन र रिजर्बतर्फ गरेको प्रगति र ती सूचकमा उनीहरुको अवस्थाको विषयमा समेत तुलनात्मक अध्ययन गरिएको छ । 

डिपोजिट र लोनमै मुक्तिनाथ विकास बैंकको पोजिसन नम्बर वानमा छ । त्यति मात्र होइन, मुक्तिनाथको निक्षेप र कर्जा प्रवाहतर्फको प्रगति समेत सन्तोषजनक देखिन्छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा मुक्तिनाथले निक्षेप १६.३ र कर्जा १८.५१ प्रतिशतले बढाएको छ । समग्र उद्योगको भन्दा राम्रो ग्रोथसहित यी दुई सूचकमा समेत मुक्तिनाथ नम्बर वानमा रहनु सुखद पक्ष हो । 

निक्षेप वृद्धितर्फ साइन रेसुंगा, तिनाउ मिसन, गण्डकी विकास बैंकले राम्रो ग्रोथ गरेका छन् । कामना सेवा, सांग्रीला डेभलपमेन्ट बैंकको समेत निक्षेपतर्फको ग्रोथ राम्रो छ । 

कर्जातर्फको ग्रोथमा गरिमा विकास बैंक, साइन रेसुंगा, तिनाउ मिसन, गण्डकी विकास बैंकको अवस्था समेत राम्रो देखिएको छ । 

रिजर्बको आकारको हिसाबले सबैभन्दा बलियो अवस्था महालक्ष्मी विकास बैंकको छ । यो बैंकको रिजर्बमा १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । लुम्बिनी विकास बैंकको रिजर्बमा १ अर्ब १९ करोड रुपैयाँ छ । लुम्बिनी विकास बैंकको रिजर्ब गत वर्षको तुलनामा १८.४९ प्रतिशतले घटेको हो । 

तिनाउ र मिसनबीच मर्ज भई बनेका कारण तिनाउ मिसनको  रिजर्बतर्फको ग्रोथ राम्रो देखिएको छ । यस्तै, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, देवः विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकको रिजर्बतर्फको ग्रोथ समेत राम्रो देखिएको छ । 

अन्य विकास बैंकहरुको निक्षेप, कर्जा र रिजर्बतर्फको अवस्था र ग्रोथको अवस्था टेबलबाट हेर्नुहोस्:

इपीएस, एनपिएल र बेस रेट
राष्ट्रिय स्तरका विकास बैंकहरुको वार्षिकीकृत प्रतिसेयर आम्दानी, खराब कर्जाको अनुपात र आधार दरलाई समेत हामीले तुलनात्मक ढंगले हेरेका छौ । 

सबैभन्दा राम्रो इपीएस साइन रेसुंगा डेभलपमेन्ट बैंकको छ । दोश्रो त्रैमाससम्ममा यो बैंकको वार्षिकीकृत इपीएस २२.९४ रुपैयाँ रहेको छ। 

मुक्तिनाथ विकास बैंकको इपीएस पनि २२.१३ रुपैयाँ छ । तर, ग्रोथको हिसाबले हेर्दा मुक्तिनाथको इपीएस चढ्दो क्रममा देखिएको छ भने साइन रेसुंगाको घट्दो क्रममा छ। मुक्तिनाथको इपीएस अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.५६ प्रतिशतले बढेको छ भने साइन रेसुंगाको ६.४८ प्रतिशतले घटेको छ । 

गरिमा विकास बैंक र कैलाश विकास बैंकको इपीएस गत वर्षको तुलनामा घटे पनि समग्रमा तेश्रो र चौथो स्थानमा परेको छ । 

इपीएसमा सबैभन्दा गतिलो प्रगति ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकले गरेका छन् । अघिल्लो वर्षको यही अवधिको तुलनामा ज्योतिले इपीएसमा ४३.८६ प्रतिशत र महालक्ष्मीले ४२.८७ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

तिनाउ मिसन डेभलपेमन्ट बैंक र लुम्बिनी विकास बैंकको इपीएसतर्फ भने पहिरो गएको देखिन्छ । 

यस्तै, खराब कर्जा अनुपातको अवस्थामा मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंक सुविधाजनक अवस्थामा देखिएका छन् । देव विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकमा खराब कर्जाको अवस्था केही निराशाजनक देखिन्छ । 

खराब कर्जालाई घटाउने मामलामा सांग्रीला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा अगाडि देखिएका छन् । 

खराब कर्जाको अनुपात अघिल्लो वर्षको तुलनामा साइन रेसुंगा र गण्डकी विकास बैंकमा भयावह प्रतिशतले बढेको छ । 

दोश्रो त्रैमाससम्मको अवधिमा सबैभन्दा कम आधार दर साइन रेसुंगाको देखिएको छ । यसको आधार दर १०.२३ प्रतिशत मात्र छ । यस्तै, गरिमा विकास बैंकको आधार दर पनि अरुको तुलनामा केही कम अर्थात १०.९५ प्रतिशत रहेको छ । 

कामना सेवा विकास बैंकको आधार दर सबैभन्दा बढी अर्थात ११.८६ प्रतिशत रहेको छ । 

अधिकांश सूचकमा अगाडि रहेको मुक्तिनाथ विकास बैंकको आधार दर ११.१८ प्रतिशत रहेको छ । 

इपीएस, एनपिएल र आधार दरमा विकास बैंकहरुको अवस्थाको तुलनात्मक अध्ययन टेबलमा हेर्नुहोस् :