काठमाण्डौ । धितोपत्र बोर्डले साउनदेखि धितोपत्रको सार्वजनिक निश्कासनको बाँडफाँडको क्रममा १० कित्ता सेयर अनिवार्य पर्ने नियम बनाए पनि नेपाल हाइडो डेभलपर लिमीटेडको आइपीओको बाँडफाँड भने पुरानै चिठ्ठा प्रथाबाटै गरिएको छ। 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्ध एनएमबी क्यापिटलले शुक्रबार बिहान ३ लाख ९० हजार कित्ता आइपीओको बाँडफाँड चिठ्ठाप्रथाबाट गरिएको हो । तर, चिठ्ठाबाट जो जो भाग्यमानी साबित भए, उनीहरुले चाहि १० कित्ता अनिवार्य रुपमा प्राप्त गरे । 

यो कम्पनीको आइपीओमा १ लाख ७१ हजार ५ सय ९२ आधिकारिक आवेदन परेका थिए, यीमध्ये ३६ हजार २ सय ७० आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारे । अरु सबै जिल्लिए । 

यो आइपीओ १९ हजार ५ सय ११ वटा म्युुचुुअल फण्डले प्राप्त गरे भने सो जलविद्युत कम्पनीका कर्मचारी ७ हजार ८ सय कित्ता प्राप्त गरे । 

गलत डिम्याट नम्बर, दोहोरो आवेदन तथा तोकिएको कित्ता भन्दा बढी वा कमको आवेदन दिनेहरु गरी कुल १९ सय ९ आवेदन रद्ध भयो । 

एनएमबी क्यापिटलका अनुसार आस्वा प्रणालीमा लगानीकर्ताको खातामा जम्मा भएको र सेयर नपरेको रकम ३ कार्यदिनभित्र सम्बन्धितकै खातामा फिर्ता हुन थाल्नेछ । 

नेपाल हाइडो डेलभपर लिमीटेडले गत साउन २७ देखि साउन ३२ गतेसम्म ३ लाख ९० हजार कित्ताको कुल ३ करोड ९० लाख मूल्यको आइपीओ बिक्रीका लागि निश्कासन गरेको थियो । इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो । 

नेपाली धितोपत्रको सार्वजनिक निश्कासनको इतिहासमा यो कम्पनी त्यस्तो पहिलो कम्पनी हो, जसको आइपीओमा देशभरका हजारौं लगानीकर्ताले पूर्ण आस्वा प्रणालीबाट आवेदन भरेका थिए ।