काठमाण्डौ । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी हुने स्पष्ट पारेको छ।
५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरुमा समेत एलपी ग्यास भरी बिक्री–वितरण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले आज एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। त्यस्ता सिलिन्डरको प्रयोग नगर्न पनि निगमले आमउपभोक्तालाई आग्रह गरेको छ।
विज्ञप्तिमा केही ग्यास उद्योगहरुले बढी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री-वितरण गर्न अनुमति माग गरे पनि निगमले नदिएको जनाइएको छ। निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।
त्यसैले १४.२ केजीभन्दा बढी जस्तै ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री-वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्यास भरी बिक्री-वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न पनि निगमले निर्देशन दिएको छ। निर्धारित तौलभन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री-वितरण गरेको पाइएमा कारबाही हुने निगमले चेतावनी दिएको छ।
6 minutes ago
16 minutes ago
39 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago