काठमाण्डौ । केन्द्रीय बैंकले प्रणालीमा तरलता अधिक रहेको दाबी गरे पनि बैंकहरुले भने निक्षेप तानातानको रेसलाई छाडेका छैनन् । असोज १  गतेदेखि सुरु भएको यो रेस र यसमा एकअर्कालाई टप्न थालिएको ब्याजदर युद्ध कात्तिकमा झनै चर्किने देखिएको छ । 

अधिकांश वाणिज्य बैंकहरुले कात्तिक १(आज)देखि कार्यान्वयनमा आउने गरी नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । यसरी नयाँ ब्याज सार्वजनिक गर्नेमध्ये एनआइसी एशिया, लक्ष्मी, एनसीसी बैंक आक्रामक रुपमा अगाडि आएका छन् भने असोजमा आक्रामक देखिएका कतिपय बैंक कात्तिकमा केही सम्हालिएका छन् । 

आज थप केही वाणिज्य बैंकले ब्याजदर प्रकाशित गरेका छन् । तीमध्ये कुन बैंकको ब्याजदर कति पुग्यो हेरौं:

नवील बैंक
नवील बैंक लिमीटेड ब्याजदर वृद्धिमा केही नरम देखिएको छ । यो बैंकले ३ महिने र सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.७६ प्रतिशत कायम गरेको छ । 

एक वर्षे अवधिको कुमुलेटिभ फिक्स्ड डिपोजिटको ब्याजदर ८.५१ प्रतिशत तोकेको छ । 

यस्तै, ३ महिने वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.२६ प्रतिशत तोकिएको छ । 

नवीलले बचत खाताको ब्याजदर अधिकत ६.२६ प्रतिशत कायम गरेको छ । 

बैंकको भदौको आधार दर ६ प्रतिशत रहेको छ । अधिकांश लोनको ब्याजदर बेस रेटमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थपेर तोकिएको छ । 

ग्लोबल आइएमई बैंक
पूँजीको हिसाबले सबैभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंक पनि ब्याजदर वृद्धिमा खासै आक्रामक देखिएन । यो बैंकले कात्तिकका लागि सार्वजनिक गरेको नयाँ दरअनुसार ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ८.८० प्रतिशत ब्याज पाइनेछ । ६ महिनादेखि १ वर्षे अवधिको व्यक्तिगत मुद्दतिमा ८.९० प्रतिशत र १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत ब्याज पाइन्छ । संस्थागत मुद्दति निक्षेपमा समेत यही दर कायम गरिएको छ । संस्थागत बिडिंगको दर भने ९.५० प्रतिशत कायम गरिएको छ । 

यो बैंकले बचतको ब्याजदर अधिकत ४.५० प्रतिशत कायम गरेको छ।

कर्जाको ब्याजदर खासै बढाइएको छैन । 

बैंक अफ काठमाण्डू लिमीटेड
यो बैंकले व्यक्तिगत र संस्थागत मुद्दतितर्फको ब्याजदर समान कायम गरेको छ । जसअन्तर्गत ३ देखि ६ महिने अवधिको मुद्दतिमा ७.५७ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिको मुद्धतिमा ८.५७ प्रतिशत र एक वर्षे वा सोभन्दा बढी अवधिको मुद्धतिमा ९.५७ प्रतिशत ब्याजदर कायम गरिएको छ । 

बैंकको बचत खाताको अधिकतम ब्याजदर ६.५७ प्रतिशत कायम गरिएको छ । 

बैंकको भदौको आधार दर ७.३४ प्रतिशत रहेको छ । लोनको ब्याजदर आधार दरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थपेर कायम गरिएको छ । 

सिभिल बैंक
यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ विभिन्न अवधिका लागि भिन्ना भिन्नै ब्याजदर कायम गरेको छ । ३ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ८.५१ प्रतिशत, ६ महिने अवधिको ८.७१ प्रतिशत, ९ महिने अवधिको ९.५१ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको १०.११ प्रतिशत ब्याजदर कायम गरिएको छ । 

संस्थागत मुद्दतितर्फ ३ महिने अवधिका लागि ९.०१ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिको ९.३१ प्रतिशत र एक वर्षभन्दा बढी अवधिका लागि ९.८१ प्रतिशत ब्याजदर तोकिएको छ । 

संस्थागत बिडिंगतर्फको ब्याजदर १०.६१ प्रतिशत तोकिएको छ । 

यो बैंकले बचतको अधिकतम ब्याजदर ६.५१ प्रतिशतसम्म तोकेको छ। 

बैंकको भदौको आधारदर ८.०४ प्रतिशत रहेको छ । कर्जाको ब्याजदर आधार दरमा कम्तीमा २ देखि बढीमा ७ प्रतिशतसम्म प्रिमियम थपेर तोकिएको छ । 

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंक ठूला बैंकको तुलनामा ब्याजदर वृद्धिमा केही अनुशासित देखिएको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपअन्तर्गत ३ महिनादेखि ६ महिने अवधिका लागि ९.२५ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ९.५० प्रतिशत र एक वर्षभन्दा बढी अवधिका लागि ९.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । 

रेमिटान्स फिक्स्ड डिपोजिटका लागि भने १०.७५ प्रतिशत ब्याजदर तोकेको छ । 

संस्थागतर्फ मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गरिएको छ । 

बचततर्फ सेञ्चुरीको अधिकतम ब्याजदर ६.२५ प्रतिशत रहेको छ । 

यो बैंकको भदौको बेसरेट ७.६५ प्रतिशत रहेको छ । कर्जाको नयाँ ब्याजदर बेस रेटमा न्यूनतम ३ देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर तय गरिएको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेड
सिटिजन्स बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.२६ प्रतिशत तोकेको छ । 

तीन महिने वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.७६ प्रतिशत कायम गरिएको छ । 

सिटिजन्स एक्स्टा फिक्स्ड डिपोजिटको ब्याजदर ९.२६ प्रतिशत तोकिएको छ । 

सिटिजन्स बैंकले नववर्ष मासिक मुद्दति योजनाको ब्याजदर पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत न्यूनतम ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने  ३ महिनादेखि १२ महिने अवधिको प्रडक्टको ब्याजदर ८.५० प्रतिशत, १२ देखि २४ महिने अवधिको ब्याजदर ९ प्रतिशत तोकिएको छ । 

न्यूनतम ५० हजार राख्नुपर्ने गरी सिटिजन्स बैंकले दशैंतिहार मुद्दति निक्षेप योजना समेत ल्याएको छ । यसको ब्याजदर ९.२६ प्रतिशत कायम गरिएको छ । सिटिजन्स छैठ विशेष मासिक मुद्दति योजनाको ब्याजदर पनि ९.२६ प्रतिशत नै तोकिएको छ । 

यो बैंकको भदौको बेस रेट ७.९३ प्रतिशत छ । कर्जाको ब्याजदर न्यूनतम ०.२५ प्रतिशतदेखि ८ प्रतिशतसम्म बेस रेटमा प्रिमियम जोडेर कायम गरिएको छ । 

एभरेष्ट बैंक
एभरेष्ट बैंक ब्याजदर वृद्धिमा निकै संयमित देखिएको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ३ देखि ६ महिने अवधिका लागि ७ प्रतिशत, ६ महिनेदेखि १ वर्षका लागि ७.५० प्रतिशत र १ देखि १० वर्षे अवधिका लागि ८ प्रतिशत कायम गरेको छ । 

संस्थागततर्फ ३ देखि ६ महिने अवधिका लागि ६.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ७ प्रतिशत र १ वर्षदेखि १० वर्षे अवधिका लागि ८ प्रतिशत ब्याजदर तोकिएको छ । 

यस्तै, इन्स्टिच्यूसनल बल्क फिक्स्ड डिपोजिट, स्पेशल फिक्स्ड डिपोजिटको ब्याजदर ८.६१ प्रतिशत कायम गरिएको छ । 

नब्बे दिनको फिक्स्ड डिपोजिटको ब्याजदर पनि ८.६१ प्रतिशत नै कायम गरिएको छ । १०० दिनको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.२५ प्रतिशत र २०० दिनको ८.५० प्रतिशत कायम गरिएको छ । 

बचतको ब्याजदर ४ प्रतिशत कायम गरिएको छ । 

बैंकको भदौको बेस रेट ५.९८ प्रतिशत रहेको छ । कर्जाको ब्याजदर बेस रेटमा न्यूनतम १.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर निर्धारण गरिएको छ । 

हिमालयन बैंक लिमीटेड
हिमालयन बैंकले ३ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ७.५० प्रतिशत कायम गरेको छ । ६ महिने अवधिका लागि ९ प्रतिशत, ९ महिने अवधिका लागि ९.५० प्रतिशत, १ वर्ष वा सोभन्दा बढी अवधिका लागि १०.५० प्रतिशत ब्याजदर कायम गरेको छ । 

यस्तै, संस्थागत मुद्दतितर्फ ३ महिने अवधिका लागि ७.५० प्रतिशत, ६ महिने अवधिका लागि ७.७५ प्रतिशत, ९ महिने अवधिका लागि ८ प्रतिशत र १ वर्ष वा सोभन्दा बढी अवधिका लागि १०.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । 

बचतको ब्याजदर अधिकतम ७.६७ प्रतिशत कायम गरिएको छ । 

कुमारी बैंक लिमीटेड
कुमारी बैंक लिमीटेडले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.८१ प्रतिशत तोकेको छ । यस्तै, ६ महिनाभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ९.८१ प्रतिशत कायम गरिएको छ । एक वर्ष वा सोभन्दा बढी अवधिको ब्याजदर ९.८१ प्रतिशत कायम गरिएको छ । 

संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिने अवधिको ब्याजदर ९.३१ प्रतिशत र ६ महिनाभन्दा बढी अवधिको ब्याजदर १०.३१ प्रतिशत तोकिएको छ । 

यो बैंकको बचतको अधिकतम ब्याजदर ७.३१ प्रतिशत रहेको छ । 

बैंकको भदौको बेस रेट ८.०७ प्रतिशत रहेको छ । कर्जाको नयाँ ब्याजदर बेस रेटमा न्यूनतम १ देखि ६.५० प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिएको छ ।

 

माछापुच्छ्रे बैंक लिमीटेड
माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतितर्फ ३ महिनादेखि १ वर्षे अवधिका लागि ९.५० प्रतिशत ब्याजदर कायम गरेको छ । 

१ वर्षदेखि बढी अवधिको व्यक्तिगत मुद्दतितर्फको ब्याजदर पनि ९.५० प्रतिशत नै कायम गरिएको छ । 

संस्थागत मुद्दतितर्फको ब्याजदर भने सबै अवधिका लागि ९.८५ प्रतिशत तोकिएको छ । 

बैंकको बचत खाताको ब्याजदर अधिकतम ६.२५ प्रतिशत रहेको छ ।

मेगा बैंक लिमीटेड
मेगा बैंक लिमीटेडले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ महिना वा सोभन्दा बढी अवधिको खाताका लागि ८.७७ प्रतिशत ब्याजदर कायम गरेको छ । 
यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.२७ प्रतिशत तोकिएको छ। 

यो बैंकले बचततर्फ अधिकतम ५.७७ प्रतिशत ब्याज तोकेको छ । यो बैंकको भदौको बेस रेट ६.८० प्रतिशत रहेको छ । 

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंक पनि ब्याजदर वृद्धिमा आक्रामक देखिएको छ । यो बैंकले ३ देखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत तोकेको छ । ६ महिनाभन्दा बढी अवधिको ब्याजदर १०.२८ प्रतिशत कायम गरिएको छ । 

यस्तै, संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिना अवधिको ब्याजदर १० प्रतिशत र ६ महिनादेखि माथि अवधिको ब्याजदर १०.२८ प्रतिशत तोकिएको छ । बैंकले बचत खातामा अधिकतम ५.२८ प्रतिशत ब्याजदर तोकेको छ ।

 

एनएमबी बैंक लिमीटेड
एनएमबी बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ ३ महिने अवधिको ब्याजदर ७.५० प्रतिशत, ४ महिनेदेखि १ वर्ष अवधिको ९ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको ९.५२ प्रतिशत कायम गरेको छ । 

यस्तै, व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबै खालको खाताको ब्याजदर ९.५७ प्रतिशत तोकिएको छ । 

बचतको अधिकतम ब्याजदर ६.५७ प्रतिशत कायम गरिएको छ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिने अवधिका लागि  ५.०६ प्रतिशत कायम गरेको छ । 

६ महिनादेखि १ वर्ष अवधिका लागि ७.०६ प्रतिशत ब्याजदर कायम गरिएको छ भने एक वर्षदेखि २ वर्ष अवधिका लागि ८.५६ प्रतिशत, २ देखि ३ तथा ३ देखि १० वर्षे अवधिको मुद्दतिमा समेत ८.५६ प्रतिशत ब्याजदर तोकिएको छ । 

यस्तै, १०१ दिने मुद्दति निक्षेपमा ५.०६ प्रतिशत तथा २०१ दिने मुद्दतिमा ७.०६ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । 

संस्थागत मुद्दतितर्फ पनि व्यक्तिगतको झै ब्याजदर कायम गरिएको छ। 

बैंकले बल्क फिक्स्ड डिपोजिटतर्फ १ देखि २ वर्षे अवधिका लागि ९.०६ प्रतिशत तथा २ देखि ३ वर्षे अवधिका लागि ८.७६ प्रतिशत ब्याजदर तोकिएको छ । 

बचततर्फको अधिकतम ब्याजदर ४.५६ प्रतिशत रहेको छ भने यो बैंकको भदौको बेस रेट ७.३९ प्रतिशत रहेको छ । 

सिद्धार्थ बैंक लिमीटेड
सिद्धार्थ बैंकले ३ महिने वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.३ प्रतिशत कायम गरेको छ । 

यस्तै, ५ वर्षे अवधिका लागि ८.४४ प्रतिशत तथा १० वर्षे अवधिका लागि ८.७५ प्रतिशत ब्याजदर कायम गरिएको छ । 

संस्थागत मुद्दति निक्षेपतर्फ ३ महिना वा सोभन्दा बढी अवधिका लागि १०.३ प्रतिशत ब्याजदर तोकिएको छ । 

यो बैंकले बचतमा अधिकतम ५.३ प्रतिशत ब्याजदर तोकेको छ भने बैंकको भदौको आधार दर ६.८८ प्रतिशत रहेको छ ।