काठमाण्डौ । आर्थिक वर्ष २०७१ को महालेखापरीक्षकको प्रतिवेदनका अनुसार हरेक नेपालीले जन्मिँदै बहन गर्नुपर्ने ऋणको भार अघिल्लो आर्थिक वर्षमा ३६ रुपैयाँ ३२ पैसाले वृद्धि भयो । वृद्धि भएको समेत गरी नेपालीले जन्मँदै २० हजार ६९ रुपैयाँ ऋणको भार बहन गर्नुपर्ने अवस्था छ । वैदेशिक अनुदानको खोलो बगिरहेको बेला, आर्थिक रुपमा बिषम परिस्थिति बाहेक अन्य समयमा औसत प्रगति भएको अवस्थामा समेत नेपालीको थाप्लोमा किन ऋण थपिइरहेको छ ? कर्मचारी मोटाएर किर्ना जस्ता हुने, तर जनताको थाप्लोमा चाहि ऋण थपिइरहने कस्तो व्यवस्थाको अभ्यासमा छौं हामी ? अनि, हरेक आर्थिक वर्षमा नेपालीको थाप्लोमा किन ऋण थपिइरहने होला ? यस्ता अनेक जिज्ञासाहरुलाई समाधान गर्ने गतिलो तथ्य फेला परेको छ । 
 

जथाभावी रुपमा ऋण लिने र त्यसको फस्र्यौट नगर्ने, वर्षौसम्म बेरुजू समेत फस्र्यौट नगर्ने र सरकारका विभिन्न संस्था तथा संस्थानमा ब्रम्हलुट चलिरहने गलत प्रवृतिका कारण नेपालीको टाउकोमा ऋण थपिइरहेको देखिएको छ । नेपालमा यस्ता संस्था तथा संस्थानहरु छन्, जसले जथाभावी र मनपरी खर्च गर्छन, त्यस्ता निकायलाई कारबाही गर्ने हिम्मत अहिलेसम्म कसैले देखाउन सकेको छैन । 
 

महालेखा परीक्षकको प्रतिवेदनको २२.३ बुँदामा स्पष्ट रुपमा अर्थमन्त्रालय अन्तरगतका १५ संस्था तथा संस्थानले उपलब्ध गराएको ऋण लगानीको अद्यावधिक आर्थिक विवरण र अर्थ मन्त्रालयले उपलब्ध गराएको ऋण लगानी विवरवणमा संस्थाले देखाएको ऋण लगानी रकम भिडान नभएको देखिएको छ । यो समस्या अघिल्ला आर्थिक वर्षहरुदेखिकै भए पनि यसलाई समाधान गर्न सम्बन्धित निकायले चासो नदिएको प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । यसबाट समेत खुलेआम करोडौ रुपियाँ भ्रष्टाचार भइरहँदा समेत सरकारी निकाय चूपचाप बसेका सहजै बुझ्न सकिन्छ । 
 

यस्तो अवस्था
केही दिन अगाडि नेपाल आयल निगमको नाफा ४२ करोड रूपैया रहेको विवरण एक दैनिक पत्रिकामा प्रकाशित भयो । सधैं घाटामा गएको विवरण मात्रै देखाएर नाफामा जान अझै पाँच वर्षसम्म सरकारले ऋण तिर्ने पैसा दिनुपर्ने बताएको निगमले अहिले ४२ करोड नाफा भएको देखाइयो । तर वास्तविकता भने केही फरक छ, अहिलेसम्म सरकारले निगमको नामबाट मात्रै करिब १२ अर्ब ६६ करोड रुपैया ऋण तिर्नुपर्ने अवस्था छ । निगमजस्तै अन्य १५ वटा संस्थाको स्थिति हेर्ने हो भने चाहि कतिपयले सरकारलाई बझुाएको ऋण विवरण र वास्तविक ऋणको अन्तर नै अरबौं रहेको भेटिएको छ । 

 

१५ वटा सार्वजनिक संस्थाको ऋणको स्थितिलाई हेर्ने हो भने ती संस्थानमध्ये ६ वटाले यथार्थ भन्दा बढी सार्वजनिक ऋण रहेको देखाएका छन् । यथार्थ ऋणलाई महालेखा नियन्त्रकको अडिट रिपोर्टलाई हेर्ने हो भने गत वर्ष जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जनकपुर चुरोट कारखाना, दि टिम्बर कर्पाेरेशन अफ नेपाल, नेपाल वायुसेवा निगम, गोरखापत्र संस्थान र राष्ट्रिय वाणिज्य बैंकको ऋणको विवरण महालेखा नियन्त्रकको कार्यालयको अडिट भन्दा बढी रहेको छ भने उदयपुर सिमेन्ट उद्योग,नेपाल पारबाहन तथा गोदाम व्यवस्थापन कम्पनी, नेपाल नागरिक उड्ययन प्राधिकरण, साँस्कृतिक संस्थान, जनक शिक्षा सामाग्री केन्द्र, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, कृषि विकास बैक र नेपाल दूर सञ्चार कम्पनी लिमिटेडले कार्यालयको अडिटको भन्दा कम ऋण देखाएका छन् । 
 

प्रतिवेदनले आर्थिक वर्ष २०७०/७१मा सबैभन्दा बढी ऋण रहेको दाबी गर्ने संस्थामा नेपाल विद्युत प्राधिकरणले ७४ अर्ब ६८ करोड पाँच लाख रूपैयाँ ऋण रहेको देखाएको छ । जसको ऋण महालेखा नियन्त्रकको कार्यालयले ७७ अर्ब ९७ करोड ८१ लाख रूपैयाँ रहेको देखाएको छ । जुन संस्थाको दावी प्रतिवेदन भन्दा तीन अर्ब २९ करोड ७६ लाख रूपैयाँ घटी हो । त्यस्तै सबैभन्दा कम ऋण दाबी गर्ने दि टिम्बर कर्पाेरेशन अफ नेपालले पाँच करोड ४७ लाख रूपैयाँ दाबी गरेको छ । सो कार्यालयको अडिट रिपोर्ट सरकारले सार्वजनिक नगरेकोले सोलाई नै स्वीकार गरिएको छ । त्यस पछि तालिकामा देखाईए अनुसार संस्थानहरूले मनपरी रूपमा ऋण घोषणा गर्ने गरिएको छ भने कार्यालयले उपलब्ध गराएको ऋण लगानीको अद्याबधिक आर्थिक विवरण र अर्थ मन्त्रालयले उपलब्ध गराएको ऋण लगानी विवरणमा संस्थाले देखाएको लगानी नभिडाउने गर्दा संस्थानमा मनपरी रूपमा ऋणको रकम देखाएर आर्थिक हिनामिना गर्ने प्रवृत्ति बढिरहेको छ । यसरी ६ संस्थाले कूल ९७ करोड ४७ लाख बढी देखाएका छन् भने बाँकी नौंवटाले सात अर्ब ९२ करोड  सात लाख घटी देखाएका छन् । यो स्थिति यो वर्ष मात्रै नभई विगतका बर्षमा समेत यस्तै रहेको छ, बरु गञ्जागोलपूर्ण ऋणको दायीत्व अझ बढिरहेको छ । यसतर्फ अर्थमन्त्रालयका कुनै पनि निकायले ध्यान दिएका छैनन् । महालेखा परीक्षकको प्रतिवेदनले बर्षेनी यो बिषयलाई प्राथमिकताका साथ उठाए पनि यथार्थको खोजी गर्न कुनै पनि निकाय नतात्नुले सबैको मिलीभगतमा भ्रष्टाचार भएको सहजै बुझ्न सकिन्छ । वर्षौदेखि स्पष्ट हुन नसकेको र महालेखा परीक्षकको प्रतिवेदनलाई धोती लगाएर अरबौ रुपियाँ झ्वाम पार्नेहरुको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समते चासो नदिनु रहस्यमय छ । 
 

१५ संस्थाको लगानी २०६९ ७० को आर्थिक विवरणमा उल्लेख गरेको भन्दा ६ संस्थाले रु. ९७ करोड ४७ लाख यकिन गर्नुपर्ने व्यहोरा विगत वर्षदेखि औंल्याउँदै आए पनि स्थिति यथावत रहेको प्रतिवेदनमा उल्लेख छ ।

अर्बौ रुपैयाँको हिसाब फस्र्यौट गर्न नसकेका संस्थाहरु 

१) जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमीटेड
२) जनकपुर चुरोट कारखाना
३) उदयपुर सिमेन्ट उद्योग
४) दि टिम्बर कर्पोरेशन अफ नेपाल
५) नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी
६) नेपाल बायुसेवा निगम
७) नेपाल नागरिक उड्ययन प्राधिकरण
८) सांस्कृतिक संस्थान
९) गोरखापत्र संस्थान
१०) जनक शिक्षा सामाग्री केन्द्र
११)नेपाल खानेपानी संस्थान
१२) नेपाल विद्युत प्राधिकरण
१३) कृषि विकास बैंक
१४) राष्ट्रिय वाणिज्य बैंक
१५) नेपाल दूरसंचार कम्पनी लिमीटेड