काठमाण्डौ । दोश्रो बजारमा हिजोआज बिमा कम्पनीहरुको दबदबा छ । बिमा कम्पनीहरुले ठूलो परिमाणमा हकप्रद र बोनस सेयर जारी गर्ने गरी पूँजीवृद्धि योजना बिमा समितिमा बुुझाएपछि त्यस्ता कम्पनीका सेयरमा मरिहत्ते गर्ने लगानीकर्ता धेरै छन् । यही क्रममा दोश्रो बजारमा तछाडमछाड गर्नुभन्दा बुद्धि पुर्याएर सस्तोमै एक बिमा कम्पनीको सेयर लिलामीबाट खरीद गर्ने अवसर समेत आजदेखि खुलेको छ।

सिद्धार्थ इन्स्योरेन्सले बैशाख २८ देखि जेठ ३१ गतेसम्म हकप्रदको बिक्री खुल्ला गरेको थियो । त्यसमध्ये बिक्री नभएको ७ हजार ९ सय ८३ कित्ता साधारण सेयर तथा ३ सय ६७ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । 

सिद्धार्थको सेयर बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार साउन १६ गते(सोमबार)देखि २३ गतेसम्म इच्छुकले तोकिएको स्थानमा शिलबन्दी बोलपत्र पेश गर्नसक्नेछन्।

साधारण सेयरका लागि सर्वसाधारण लगानीकर्ताले तथा संस्थापक सेयरका लागि कम्पनीको हाल कायम संस्थापक सेयरधनीले मात्र आवेदन दिनुपर्नेछ । 

इच्छुकले प्रति कित्ता न्यूनतम १ सय भन्दा बढी मूल्य प्रस्ताव गरी लिलामीको सेयरमा शिलबन्दी बोलपत्रमार्फत बोल लगाउनुपर्नेछ । साउन २५ गते बोलपत्र खोलिनेछ । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्नसक्ने व्यवस्था गरिएको छ । 

यो इन्स्योरेन्स कम्पनीको पछिल्लो बिक्री मूल्य प्रतिकित्ता १६८४ रुपैयाँ रहेको छ । यसअघिका धेरै अक्सन कारोबारमा बजार मूल्यको ९० देखि ९५ प्रतिशतसम्म बिड गर्नेले सेयर पाएका छन् । यो कम्पनीमा समेत त्यही हाराहारीमा मूूल्य तोकेर बोलपत्र पेश गर्न सके सेयर पर्न सक्छ ।