काठमाण्डौ । सेयर बजार पछिल्लो समय निरन्तर घटिरहेको छ । केही समय बुलिस यात्रामा रहेको बजारमा एकपछि अर्को गिरावट आएसँगै लगानीकर्ताले पनि अरबौं रुपैयाँ गुमाइसकेका छन् । 

अघिल्लो भदौ २ गते नेपालको सेयर बजारले हालसम्मकै उच्च विन्दु ३१९८ चुमेको थियो । त्यसबेला नेप्सेको बजार पुँजीकरण ४२ खर्ब ८४ अर्ब पुगेको थियो । 

ऐतिहासिक ३१९८ विन्दू चुमेको बजार निरन्तर घटेर यो साता १८४४.१४ को विन्दूमा बन्द भएको छ । नेप्से परिसूचकमै यति ठूलो गिरावट आएको बेला लगानीकर्ताको कुल सम्पत्ति मापन हुने बजार पूँजीकरणमा पनि उस्तै पहिरो गएको छ । 

यसरी हेर्ने हो भने नेप्सेले १४०० अंक गुमाइसकेको छ भने लगानीकर्ताले पनि यो अवधिमा १६ अर्ब ५२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । चाखलाग्दो विषय चाहिँ यो छ कि लगानीकर्ताले १६ खर्ब ५२ अर्ब १४ महिनामै गुमाएका छन् । यसरी हेर्दा मासिक औसत १ खर्ब ३ अर्बको दरले लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाएका देखिन्छ । 

त्यति मात्र होइन, लगानीकर्ताले १६ महिनाको अवधिमा गुमाएका सम्पत्ति नेपालको एक वर्षको बजेट बराबर रहेको छ । आर्थिक वर्ष ७९-८० को बजेट जम्माजम्मी १७ खर्ब ८३ अर्ब रहेको छ । लगानीकर्ताले यसैको हाराहारीमा उच्च विन्दुबाट बजार निरन्तर झरेर १८४४ मा आइपुग्दा १६ खर्ब ५२ अर्ब रुपैयाँ गुमाएका हुन् । 

विशेषगरी कोभिड प्रभावले लगानीका अन्य क्षेत्र ठप्प भएपछि नेपालको सेयर बजारले ऐतिहासिक विन्दूसम्मको यात्रा तय गरेको थियो । नेपालको सेयर बजारको २८ वर्ष लामो इतिहासमा पहिलोपटक नेप्से परिसूचक उक्लिएर ३२०० नजिक पुगेको थियो । 

तर, केही समयपछि विस्तारै कोभिड प्रभाव कम भयो र ठप्प भएका अन्य क्षेत्र समेत चलायमान भएसँगै पूँजी पुनः तत् क्षेत्रर्म फर्किएपछि बजार घट्न थाल्यो । त्यसमाथि नियामक निकायहरुले बढ्दो बजारमा नियन्त्रणको कैंची चलाएपछि बजारमा भारी गिरावट आइसकेको छ । यहीकारण यो १६ महिनाको अवधिमा नेप्से परिसूचकमा ४२ प्रतिशतको गिरावट आइसकेको छ । 

नियामक निकायको अस्थिर नीति, तरलताको अभाव, बढ्दो बैंक ब्याजदर र अन्तराष्ट्रिय आर्थिक परिदृश्यमा सुधार हुने कम सम्भावना रहेका कारण नेप्से परिसूचकको गिरावट यात्रा अब यतिमै मात्र सीमित हुन्छ भन्न सकिने अवस्था पनि छैन ।