काठमाण्डौ । वाणिज्य बैंकहरुको भीडमा पछिल्लो समय फरक पहिचान स्थापित गर्ने प्रयासमा रहेको प्राइम कमर्सियल बैंकले बोनस सेयरबाटै राष्ट्रबैंकले तोकेको न्यूनतम पूँजी पुर्याएको छ ।

प्राइमको पुस २५ गते सम्पन्न १० औं वार्षिक साधारणसभाले १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको संचालक समितिको प्रस्ताव पारित गरेसँगै पूँजी सहजै ८ अर्ब नाघेको हो । यो रकम बराबरको  बोनस सेयर भनेको २७ प्रतिशत हो । 

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ३२ करोड रहेको छ । बोनसको प्रस्ताव पारित भएसँगै बढेर ८ अर्ब ३ करोड माथि पुगेको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि पुस ५ गतेदेखि  बुक क्लोज गरेको थियो । यसको अर्थ पुस ४ गतेसम्म कायम सेयरधनीले मात्रै बोनस सेयर पाउनेछन् ।

विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी अगाडि बढेको यो बैंकले तोकिएको पूँजी पुर्याउनैका लागि अन्य वाणिज्य बैंकले झै धेरै ठूलो हकप्रदको भारी बोकाउनु परेन । यो बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगति पनि अन्यको तुलनामा निकै उत्साहजनक छ ।

यसैबीच, साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबााट गजेन्द्र विष्टलाई बैंकको संचालक निर्वाचित गरेको छ ।