काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहको आमरण अनसन र अन्य लगानीकर्ता संघसंगठनको आन्दोलन तथा दवाबका कारण करिब १९ महिनाअघि अर्थमन्त्रालयले अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । सो समितिले मुद्रा तथा पूँजी बजार सुधारका लागि ५८ बुँदे सुझाव सरकारलाई दिएको थियो । ती सुझावको तत्काल कार्यान्वयन गर्न अर्थमन्त्रालयले मातहतका निकायमा सोही बेला निर्देशन दिएको थियो । 

सो ५८ बुँदे सुझावमध्ये एउटा सुझाव थियो, ब्रोकर कमिसनमा पुनरावलोकन गर्ने । यो विषयको काम गर्ने अधिकार सम्पन्न निकाय धितोपत्र बोर्डलाई अर्थले तत्काल अगाडि बढ्न उतिबेलै भनिसकेको थियो । तर, अर्थले निर्देशन दिएको करिब १९ महिना बितिसक्दा समेत सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले भने ब्रोकर कमिसन पुनरावलोकनमा आलटाल गर्दै आएको छ । 

बोर्डले काम गर्ने आशासहित बसेका लगानीकर्ताहरुले यो बीचमा ब्रोकर कमिसनकै विषयलाई लिएर पटक पटक ज्ञापनपत्र बुझाइसकेका छन् ।

लगानीकर्ताका विभिन्न संगठनका नेताहरुले ज्ञापनपत्र बुझाउँदा पछिल्लो समय बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले ब्रोकर कमिसन घट्ने समयसीमासहितको आश्वासन दिएका थिए । ढिलोमा पनि तिहारलगत्तै ब्रोकर कमिसन घट्ने उनको पछिल्लो आश्वासन थियो । तर, तिहारलगत्तै ब्रोकर कमिसन घटाउने लगानीकर्तालाई आश्वासन दिएका बोर्ड अध्यक्ष पारिवारिक उत्सवमा सहभागी मनाउन अमेरिका हानिएका छन् । 

ब्रोकर कमिसन घटाउने आश्वासन दिने बोर्ड अध्यक्ष नै अमेरिका हानिएपछि लगानीकर्ता आक्रोशित देखिएका छन् । आफूहरुलाई पटक पटक आश्वासन दिएर आलटाल गर्ने काम मात्र भएको भन्दै शुक्रबार लगानीकर्ताहरुले धितोपत्र बोर्डमा प्रदर्शन नै गरे । हात हातमा प्लेकार्ड बोकेका उनीहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । 

प्रदर्शनका क्रममा लगानीकर्ताहरुले धितोपत्र बोर्डले बढिरहेको बजारको मर्म र लगानीकर्ताको मनोबलमाथि विज्ञप्तिबाजी गरेर प्रहार गरेको, दक्षिण एशियाकै महंगो ब्रोकर कमिसनको भार लगानीकर्ताको टाउकोमाथि थोपर्ने काम भएको, लगानीकर्ताबाट कमिसन असूलेर त्यसको हिस्सा विभिन्न निकायलाई बाँड्ने काम मात्र गरिएको, २० करोड हाराहारीको कारोबार हुँदाको कमिसन र हाल १० अर्ब नजिकको दैनिक कारोबार हुँदाको कमिसन उस्तै हुँदा लगानीकर्तालाई लुट्ने काम भएको भन्दै विरोध जनाएका छन् । 

बोर्डका कर्मचारीहरुलाई ब्रोकर कमिसन अविलम्ब घटाउन माग गर्दै ज्ञापनपत्र दिएका लगानीकर्ताका नेताहरुले शान्तिपूर्ण रुपमा गरिएको माग पूरा नभए आक्रामक रुपमा अगाडि बढ्ने चेतावनी समेत दिएका छन् । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले कतिपय देशहरुमा सेयर बेच्दा मात्र ब्रोकर कमिसन दिनुपर्ने व्यवस्था भए पनि नेपालमा भने बेच्दा र किन्दा नै चर्को कमिसन तिर्नुपर्ने बाध्यता रहेकोमा दुःख व्यक्त गरे । आफूहरुले बोर्डमा पटक पटक ज्ञापनपत्र बुझाए पनि ब्रोकर कमिसनको विषयमा आलटाल गर्ने काम मात्र भएको भन्दै उनले आक्रोश पोखे । 'अब एकदिन पनि ढिलो नगरी ब्रोकर कमिसन घटाउने निर्णय होस् ।' उनले थपे-'अध्यक्ष ज्यूसँग अस्ती भेट्दा कात्तिक १ गतेदेखि घट्छ भन्ने आश्वासन दिनुभएको थियो, तर यत्रो दिन बित्दा समेत हाम्रो माग सम्बोधन भएन ।' 

सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकालले अर्थमन्त्रायले १९ महिनाअघि नै ब्रोकर कमिसन घटाउनुपर्छ भनिसकेको र धितोपत्र बोर्डले गठन गरेको कमिटीले पनि कमिसन घटाउनुपर्ने निश्कर्षसहितको प्रतिवेदन दिएको ३ महिना बढी भइसक्दा समेत ठोस निर्णय नगरिनु आपत्तिजनक रहेको बताए । 'हामी लगानीकर्ताले हरेक एकदिन नाजायज कमिसन तिरिरहेका छौ, यसमा धितोपत्र बोर्ड रमिते बनेको छ ।' उनले थपे-'बोर्डको हरेक दिनको आलटालमा करोडौं कमिसन गइरहेको छ ।' 

उनले १९ महिनाअघि अर्थले भनिसकेको कुरामा पनि आलटाल गरी धितोपत्र बोर्डले के गर्न खोजेको ? भन्दै प्रश्न गरे । 'के अब ब्रोकरहरुले नै हामीले बेस्मरी कमायौं भन्दै हामीलेजस्तै ज्ञापनपत्र दिएपछि मात्र ब्रोकर कमिसन घट्ने हो ?' उनले प्रश्न गर्दै थपे-'लगानीकर्ताले लामो समयदेखि गरेका प्रत्येक आन्दोलनमा ब्रोकर कमिसनको कुरा जोडिएको छ । बोर्डले यसरी आलटाल गर्नु पछाडिको रहस्य थाहा हुनुपर्छ, लगानीकर्ताले खोजिरहेका छन् ।' 

उनले कारोबार रकमसहित बजार बढ्दा घटाउने उद्देश्यले बोर्डका अधिकारीहरु प्रोपोकाण्डा गर्न लागिरहेका उल्लेख गर्दै भने-'१८ दिनमा ब्रोकरहरुले ६८ करोड कमिसन लगेछन् । त्यो लगानीकर्ताले दुःख गरेर कमाएको पैसा हो । फेरि अर्थमन्त्रालयले नै अहिलेको कमिसन जायज छैन भनिसकेपछि बोर्डले चाहिँ किन आलटाल गरिरहेको हो?'